केन्द्रीय सरकारविरुद्ध अनशन बस्ने मुख्यमन्त्रीको चेतावनी

28 Shares

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबावु राउतले केन्द्रीय सरकारको असहयोगका विरुद्धमा अनशन बस्ने चेतावनी दिएका छन् । प्रदेश सरकारको काममा केन्द्रीय सरकारले अवरोध गरिरहेको भन्दै उनले आन्दोलन गर्न बाध्य हुने बताए ।
मुलुक संघीयतामा गए पनि केन्द्र सरकारको सोच र शैलीमा पुरानै रहेको मुख्यमन्त्री राउतले गुनासो गरेका छन् । केन्द्रीय सरकार मातहत रहेको कर्मचारी र प्रहरी–प्रशासनले असहयोग गरिरहेको भन्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी ओलीलाई पत्र समेत लेखेका थियो ।
गरिबी निवारण कोषले मंगलबार जनकपुरमा गरेको व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय सरकारसँग प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘केन्द्र सरकारको सोच र शैलीमा परिवर्तन आउनु जरुरी छ । पुरानै व्यवहार गरिरहे हामी आन्दोलनमा जान्छौं ।’
केन्द्र सरकारका कर्मचारीहरुले असहयोग गरेको भन्दै यसअघि प्रधानमन्त्रीलाई पत्र नै लेखेका मुख्यमन्त्री राउतले प्रहरी–प्रशासनको कमान्ड प्रदेश प्रमुखको हातमा नहुँदा संघीयताको मर्म नै विवादित भएको बताए । उनले भने, ‘मुलुक प्रधानमन्त्रीले नै चलाउने भए, मुख्यमन्त्री किन चाहियो ?’ मुख्यमन्त्री राउतले कानुन बनाएर प्रहरी–प्रशासनलाई प्रदेशको मातहातमा ल्याउने प्रयास गर्ने बताए ।
प्रदेश २ मा शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार भए पनि यो प्रदेश मुलुकै दोस्रो सबभन्दा गरिब प्रदेश बनाइएको उनको गुनासो छ । केन्द्र सरकारले बनाउने योजनाहरु भूगोलको आधारमा मात्र नभई जनसंख्या तथा आवश्यकताको आधारमा बनाउनु पर्ने उनको माग छ ।
प्रदेशहरुलाई अधिकारविहीन बनाएर संघीयता असफल बनाउन खोजेको आरोप लगाउँदै मुख्यमन्त्री राउतले भने, ‘मधेसी जनताले रगत बगाएर संघीयता ल्याएको छ । केन्द्र जतिसुकै बेइमानी गरे पनि संघीयता टिकाइराख्छौं ।’
गरिबी निवारण कोषको आयोजना भएको कार्यक्रममा कोषका उपाध्यक्ष यमबहादुर थापा, प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, पूर्वमन्त्री डम्बरनारायण यादव, कोषका सञ्चालक समिति सदस्य नारायण कोइराला र कार्यकारी निर्देशक नहकुल केसी, प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३२ स्थानीय तहका प्रमुखको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार