५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

शाक्यको हत्या आरोपमा तीन पक्राउ


२१ फाल्गुन २०७४, सोमबार  

7
Shares

विराटनगर, उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।

हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मण्डन देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी–७ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की र उर्लाबारी–५ बस्ने मोहन काफ्लेलाई दुई वटा गाडीसहित नियन्त्रणमा लिइएको छ ।

Sagarmatha

महानगरीय प्रहरी अपराध महाशाखा टेकु, काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले फागुन १९ गते विराटनगर–३ स्थित गोधली मार्गमा शंकास्पद रुपमा दक्षिणबाट उत्तरतर्फ गइरहेको बा१२च ५९६३ नंको सेतो रङको स्कारपियो गाडी र सोही गाडीको पछाडि रहेको मे१च ५३९५ नं टाटा जेनोनलाई रोकी जाँच गर्दा स्कारपियो गाडीमा मृतक शाक्यको शव भेटिएको थियो । उक्त शवसँगै करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीसमेत फेला पारेको थियो ।

पक्राउ परेका व्यक्तिहरुले आर्थिक लेनदेन तथा एक महिना अगाडि काठमाडौँबाट हराएको वा लुटिएको ३३ किलो ५०० ग्राम सुनको विषयलाई लिएर शाक्यलाई कुटपिट गरी करेन्ट लगाएर मारेको वयान दिएको प्रहरी उपरीक्षक विसीले जानकारी गराए।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार  १० : २६ बजे