भाषा बचाउन अर्काे समिति

0 Shares

काठमाडौँ, २९ भदौ । नेपाली वाङ्मयको वर्ण विन्यासमा देखापरेको अराजकता हटाउने पहलका लागि प्रा डा खेम कोइराला बन्धुको संयोजकत्वमा आज नयाँ समिति गठन भएको छ ।

‘श्री नेपाल’ संस्थाद्वारा आज आयोजित छलफल कार्यक्रममा सो समिति गठन भएको हो ।
समितिमा वरिष्ठ साहित्यकार, समालोचक, विभिन्न शिक्षालयमा नेपाली विषयका अध्यापक रहेका छन् । वर्ण विन्यासमा लागू गर्न खोजिएको नयाँ मापदण्डले भाषाको मौलिकता मर्ने भएकाले त्यसलाई पूर्ववत् अवस्थामा कायम गर्न समितिले पहल गर्ने संयोजक कोइरालाले जानकारी दिनुभयो । नेपाली भाषाको व्याकरण बिगारिएको भन्दै डा गाउँले बलदेव अधिकारीको संयोजकत्वमा यसअघि एक अभियान नै सञ्चालित हुँदै आएको छ । सो विषय हाल सर्वोच्च अदालतमा विचाराधीन पनि छ ।

कोषकार चूडामणि गौतमले वर्तमानमा साविक वर्ण विन्यासकै नियमबाट मात्र नेपाली लेखनको हालको समस्या सम्बोधन हुने बताउनुभयो । लेखक हरिभक्त सिग्देलले नेपाली भाषामा संस्कृत वाङमयका कृति अनुवाद गरी सर्वसाधारणले बुझ्ने गरी प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संस्थाका अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालका वाङमय, नेपालका भाषा र नेपाली संस्कृति बचाउन सबै लाग्नुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा प्रा मोहनराज शर्माले डा कोइराला लिखित ‘विश्वास’ उपन्यासको विमोचन गर्नुभयो । पुस्तकबारे बोल्दै साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञावलीले साहित्यमा विचार र सौन्दर्य पक्षलाई एकैसाथ समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रा डा अमरराज जोशीले नेपालीमा विश्वका विशिष्ट कृतिको अनुवाद गरिनु आवश्यक छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार