२४ वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

  कविता उपाध्याय
63 Shares

रोल्पा । बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो ।
आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्याे । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्दिनथिन् ।

१६ वर्षमा डोली चढेकी २४ वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बनेकी देवी नेपाली । तस्वीर : कविता उपाध्याय

जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँचिरहनु प¥यो । जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती सिउँदो पुछियो । उनले परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी सुम्पँदै जानुपरेको बताए ।
विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो । विवाहपछि जिन्दगीका सुन्दर सपना बोकेर नवविवाहित जोडी छाला जुत्ताको पसल सञ्चालन गर्न रोल्पा आएको थियो ।
रोल्पामा छाला जुत्ताको व्यवसाय सन्तोषजनक रुपमा सञ्चालन भयो । देवीका अनुसार उनले घरधन्दा गर्थे, उनका श्रीमान पसल सञ्चालन गर्थे । पसलबाट राम्रै तरिकाले दैनिकी चलिरहेका बेला देवीको जीवनमा अकस्मात् ठूलो बज्रपात भयो । आफन्त भेट्न दाङ गएका बस्यालको मोटरसाइकल दुर्घटनामा परी निधन भयो ।
श्रीमान्को निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उनँमा जिम्मेवारी पनि थपियो । यतिबेला देवी दुई सन्तानकी आमा बनिसकेकी थिइन् । श्रीमानको निधन हुँदा देवीको नत आर्थिक अवस्था सवल थियो न हातमा कुनै किसिमको सीप थियो जसका कारण श्रीमानको काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किए ।
शुरुशुरुका दिनमा देवीको धेरै आँशु बग्यो । काखका सन्तानले बाबा खै भनेर प्रश्न गर्दा धेरैपटक उनी बीचबाटोमै भक्कानिएका थिए । कतिपटक त मध्यरातमा छिमेकीले ढोका खोलेर देवीका आँशु पुछेको उनले अझै भुलेकी छैनन् । तर यसरी सधैँ रोएर बिलौना गरेर आफूलाई कमजोर बनाउनुभन्दा बरु केही गर्छु भन्ने धारणाको विकास भएपछि उनले श्रीमानले गर्दै आएको कामलाई निरन्तरता दिन थालेको बताए ।
उनलाई शुरुशुरुमा श्रीमानले मजधारमा ल्याएर छोडेको पसल सञ्चालन गर्न निकै गाह्रो भयो । तर विस्तारै उनको क्षमतामा विकास हुँदै गएपछि व्यापार राम्रो चलेको देवीले बताए । यसले विस्तारै उनको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन हुन थाल्यो । तर दुःखको कुरा श्रीमानको निधन भएको करिब एक महिना नपुग्दै साढे दुई लाखको तमसुकसहित साहु आएपछि उनी थप चिन्तित बनेकी थिइन् । तर पनि करिब एक वर्ष नपुग्दै उहाँले श्रीमानले लगाएको ऋण चुक्ता गरे ।
“शुरुशुरुमा धेरै रोएँ केही जान्दैनथेँ, कसैसँग बोल्न पनि आउँदैनथ्यो । जुत्ता तथा पसलमा भएका अन्य सामग्रीको मूल्य पनि थाहा थिएन । तर केही गर्छु भन्ने हिम्मत आएपछि सबै सहज बन्दै गयो” उनले भने ।
करिब दुई लाखबाट सञ्चालन भएको व्यवसाय हाल आठ लाख बराबरको पुगिसकेको छ । उनका दुवै छोरा सदरमुकामकै विद्यालयमा कक्षा ४ र कक्षा १ मा अध्ययनरत छन् । सम्पूर्ण घरखर्च कटाएर मासिक २०÷२२ हजार बचत हुँदै आएको छ भने उनले कोहलपुरमा एउटा घडेरीसमेत लिइसकेका छन् ।
“आफूलाई नीलो ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु” उनले भने । सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ । “समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहेका छन् । उनीहरुलाई पनि जीवनमा केही गरेर आत्मनिर्भर बन्न सल्लाह दिन्छु” देवीले भने ।
कठिन परिस्थितिसँग डराएर होइन हिम्मत गरेर अघि बढ्न सके सफल भइदो रहेछ भन्ने राम्रो उदाहरण बन्न सफल भएका छन्, देवी । यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाले महिला दिवसका अवसरमा आज देवीलाई पाँच हजार नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दैछ ।
महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले देवीको प्रशंसनीय कामको खु्ल्ला हृदयले प्रशंसा गरेका छन् । उनका अनुसार जिल्लामा देवीजस्ता अरुकै खुशीमा रमाउनु पर्ने बाध्यता बोकेका महिलाको संख्या ठूलो छ । विभिन्न कारण तथा विभिन्न बाध्यतामा महिला आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।
तर पनि देवीजस्तै संघर्ष गर्नसके अन्य महिलाको जीवनस्तरमा पनि सुधार आउने उनको धारणा छ । यस वर्षको महिला दिवसले सम्पूर्ण महिलालाई आत्मनिर्भर बन्न प्रेरणा मिलोस् भन्दै आचार्यले सम्पूर्ण रोल्पाली महिलालाई शुभकामना पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार