गंगामायासँग बकपत्र गरिने

0 Shares

चितवन, २९ भदौ । श्रेष्तेदार गेहेन्द्रराज पन्तलाई आउँदो असोज २ गते द्वन्द्वकालमा मारिएका कृष्णप्रसाद अधिकारीकी आमा गंगामायासँग बकपत्र गराउन जिल्ला अदालत चितवनले आदेश गरेको छ ।

अदालतको आदेशसँगै गंगामायाले सोमबार साँझ अनसन तोड्नु भएको थियो । उहाँ काठमाडौँको वीर अस्पताल अनशनरत हुनुहुन्थ्यो ।

जिल्ला अदालत चितवनका न्यायाधीश टेकनारायण कुँवरले मुलुकी ऐन अदालत बन्दोबस्तीको १४२ नम्बर बमोजिम श्रेष्तेदार पन्तलाई अधिकारी उपचाररत अस्पतालमै गएर बकपत्र लेखाई ल्याउन आदेश गर्नुभएको हो । आदेशमा “हाल वीर अस्पतालमा उपचाररत रहेको अनुसन्धानका क्रममा बुझिएको गंगामाया अधिकारीले आफ्नो बकपत्र गराई पाउँ भनी निवेदन दर्ता गराएको र अभियोजन पक्षबाट समेत निजलाई बुझ्न आवश्यक रहेको भनी बहसमा अनुरोध गरिएको परिपेक्ष्यमा निज गंगामाया अधिकारीको बकपत्र गर्ने सक्ने अवस्था भए सम्बन्धित चिकित्सकको परामर्श लिई बकपत्र लेखाई ल्याउनू” भनिएको छ ।

चिकित्सकको सल्लाहअनुसार निज गंगामाया बकपत्र गर्न नसक्ने अवस्था भएमा सम्बन्धित चिकित्सकलाई रोहवरमा राखी सोही व्यहोरा उल्लेख गरी मुचुल्का तयार गरी प्रतिवेदन पेस गर्न आदेश गरिएको छ ।

पुरानो मुद्दा भएकाले त्यसको असोज ९ गते पेशी समेत तोकिएको छ । मुलुकी ऐन अदालती बन्दोबस्तको १४२ नम्बरमा “नबुझी नहुने मुद्दामा अड्डामा आउन नसक्ने बूढाबूढी र होस भएका अशक्त बिरामीलाई साक्षी बुझ्नु पर्ने भएमा उसैको घरमा गई उसले भने बमोजिमको बकपत्र लेखी ल्याउन हाकिम आफैं गई वा आफूभन्दा मुनिका सबैभन्दा ठूलो दर्जाको कर्मचारीलाई खटाई पठाउनु हुन्छ” भन्ने उल्लेख छ । सोही बमोजिम अदालतले आफूलाई बकपत्र लेखी ल्याउन आदेश भए बमोजिम तल्लो कर्मचारीको सहयोगमा असोज २ गते बकपत्र लेखी ल्याउने श्रेष्तेदार पन्तले बताउनुभयो ।

जिल्ला अदालत चितवनका नायब सुब्बा जयनारायण आचार्यका अनुसार ३७ वर्षको इतिहासमा जिल्ला अदालत चितवनले मुलुकी ऐन अदालती बन्दोबस्तको १४२ नम्बर प्रयोग गरी बकपत्र लेखाउन लागेको यो पहिलो हो । आचार्य ३७ वर्षदेखि अदालतमा कार्यरत हुनुहुन्छ ।

मृतक छोरा कृष्णप्रसादको हत्याका बिषयमा चितवन जिल्ला अदालतले गंगामायाको साक्षी बकपत्र गराउने आदेश दिएपछि कानुन व्यवसायी र मानवअधिकारवादीको राय सल्लाहमा सोमबार साँझ अनशन तोड्नुभएको हो ।

विगत ६ वर्षदेखि अनशन बस्दै आउनु भएका उहाँ बीचमा स्थगन गरी पछिल्लो समयमा पुनः ३२ दिनदेखि आमरण अनशनमै हुनुहुन्थ्यो ।

सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको बकुलहर आएका बेला कृष्णप्रसादलाई अपहरण गरेर हत्या गरिएको थियो । विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिप्रका चितवनमा जाहेरी दिनुभएको थियो । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।
जिल्ला अदालत चितवनले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएएको छ भने सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल फरार छन् । अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल (अजीव) लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटी राखेर तारेखमा छोडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राखी तारेखमा छाडिएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार