काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किरातीले गाईगोरुको मासु परम्परागत रुपमा प्रयोग गर्दै आएको आदिवासी सँस्कृतिको लागि राधिका तामाङको भनाईलाई रचनात्मक ढंगबाट ग्रहण गर्नु पर्ने आग्रह गरेका छन् । नेता किरातीले सामाजिक सञ्जाल फेसबुकको टाइम लाईनमा स्टाटस लेख्दै ‘आदिवासी साँस्कृतिक परम्परामा गाई गोरुको प्रयोजनबारे क. राधिका तामाङको भनाईलाई नेपाली समाजको विविधतामा रचनात्मक ढंगले ग्रहण गर्नुपर्छ’ भनेका हुन् ।

किरातीले तामाङको मर्म बोध नगरी सामाजिक सञ्जालमा उछितो काडेर कोही मुक्त नहुने समेत धारणा राखेका छन् । ‘मुख्य कुरा प्रचण्ड कम्पनीले माओवाद र पहिचान परित्याग ग¥र्यो भन्ने हाम्रो टिप्पणी सही हो होईन ? परिक्षणको घडी आए जस्तो लाग्छ’ किरातीले भने ।
नेपालमा बसोबास गर्दै आएका आदिवासीहरुले हजारौं वर्ष पहिलेदेखि आफ्नो साँस्कृतिक परम्परामा गाई गोरुको मासु प्रयोग गर्दै आएकाले उनीहरुको धार्मिक स्वतन्त्रतलाई समेत स्वीकार्न अनुरोध गरेका छन् । केहि शताब्दीदेखि एकल जाति, एकल भाषाको धार्मिक अतिक्रमणले गर्दा आदिवासीहरुको भाषा, सँस्कार र सँस्कृतिलाई वेवास्ता गर्दै आफ्नो समुदायलाई लक्षित गरी नेपालमा कानून बनाइएको समेत किरातीको आरोप छ ।

किरातीले यस्तो समस्याको समाधान गर्नको लागि राष्ट्रिय जनावरबाट गाई हटाउन पर्ने, बौद्ध र हिन्दु सबैले आ–आफ्नो साँस्कृतिक परम्परा अभ्यास गर्न पाउने कानुनी व्यावस्था हुनुपर्ने धारणा अगाडि सारेका छन् ।
धर्म निरपेक्ष गणतन्त्र नेपाल संविधानमा व्यवस्था भइसकेकाले सबै जातजातिलाई स्वतन्त्र पूर्वक धर्म, सँस्कार र सँस्कृति मान्न पाउनु पर्ने कानुनी व्यवस्था गर्न समेत सुझाएका छन् । किरातीले अबको आन्दोलन नेपाली आदिवासीहरुको धार्मिक र साँस्कृतिक स्वतन्त्रताको हुने समेत संकेत गरेका छन् ।
११ चैत्र २०७४, आइतबार
707
Shares







