काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव तथा संघीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले किरातीहरुको महान चाड साकेला, चासोक तङनाममा प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा गोरु काटेर मनाउने घोषणा गरेका छन् ।
धर्मनिरपेक्ष नेपालमा सँस्कृतिलाई पुनः जीवित बनाउनको लागि नेता शेर्पाले किरातीहरुको चाडमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रदेश ३ को उपसभामुख राधिका तामाङको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना गर्ने बताएका हुन् ।
पितृहरूको सम्मानमा ‘गोरू’ चढाउनु पर्छ । सबैलाई गोरूको सुकुटी र मोमो खुवाउनु पर्छ भन्दै शेर्पाले सवैलाई ऐतिहासिक कार्यक्रममा सहभागी हुन आह्वान समेत गरेका छन् ।
किरात समुदायको साँस्कृतिक पितृ पुजा र घर पुजा गर्दा गाईगोरुको टाउको राखेर पुज्नु पर्ने परम्परागत मान्यता छ । तर राज्यले गाईगोरु काटेमा जेल हाल्ने कानुन बनाएर साँस्कृतिक अतिक्रमण गरेको भन्दै आदिवासी समुदायका अगुवाहरु चिन्तित भएका हुन् ।
पछिल्लो समय प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले दिएको अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा विभिन्न सकारात्मक र नकारात्मक टिका टिप्पणी भैरहेको छ । उपसभामुख तामाङले आदिवासीहरुको साँस्कृतिक कार्यमा गाईगोरु काट्न पाउनु पर्छ भन्दै ऐन शंसोधनको लागि आवाज उठाएका थिए ।








