जनान्दोलन दिवसमा बहुभाषिक साहित्य महोत्सव

147 Shares

काठमाडौँ । जनआन्दोलन दिवसको अवसरमा ३ नं प्रदेशस्तरीय बहुभाषिक नेपाल साहित्य महोत्सव आयोजना गरिने भएको छ ।
प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ साल फागुन ७ गतेदेखि शुरु भएको जनान्दोलन चैत २६ गते सफल भएको थियो । तत्कालीन राजा वीरेन्द्रले दलमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरी प्रजातन्त्र पुनःस्थापना भएको घोषणा गरेका थिए । त्यसै दिनको सम्झनामा राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णेश्वरको यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको हो । कार्यक्रममा बहुभाषिक कविगोष्ठी, पुस्तक तथा पत्रपत्रिका प्रदर्शनी, विद्यालयस्तरीय सांस्कृतिक, लोक तथा राष्ट्रिय नृत्य एवं झाँकी प्रदर्शन, निःशुल्क स्वास्थ्य शिविर, पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रमलगायत गरिने कार्यक्रम संयोजक गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न सांसद कृष्ण राई र प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महोत्सवको आयोजक संस्थामा शहीद स्मारक, गोकर्णेश्वर–कागेश्वरी मनोहरा–शंखरापुर र बूढानीलकण्ठ नगरपालिका, अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठान, रमेश विकल साहित्य प्रतिष्ठान, भैरव पुरस्कार गुठीलगायत रहेको आयोजक समिति सदस्य एवम् स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले बताए ।
मन्त्रीपरिषद्ले विसं २०६४ जेठ ११ गते गोकर्णेश्वरमा पहिलो शहीद लखन थापादेखि विसं २०६२/२०६३ सम्मका शहीदको सम्झनामा स्मारक रहने गरी राष्ट्रिय शहीद स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । यज्ञडोल सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद संग्रहालय, पुस्तकालय, निजामती उद्यान र घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन वनराज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा हर्क गुरुङलगायतको सम्झनामा पनि स्मारक निर्माण गर्ने निर्णयअनुसार हाल काम भइरहेको छ ।
स्मारक निर्माण भएपछि शहीदढोकाका चार शहीदको शालिक पनि गोकर्णेश्वरमै राखी शपथ लिनुअघि राष्ट्राध्यक्ष एवं सरकार प्रमुख शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने स्थल बनाउने सरकारको तयारी छ । विदेशी राष्ट्राध्यक्ष एवं सरकार प्रमुख नेपाल आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमा स्मारकमै झर्ने गरी हेलिप्याड समेत निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार