२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

मापसे गरेर विद्यालय आउने शिक्षकमाथि कारवाही गर्न सिफारिस


२२ चैत्र २०७४, बिहिबार  

35
Shares

ओखलढुंगा । मोलुंग गाउँपालिका वडा नं. १ स्थित जलकन्या आधारभूत विद्यालयले दिनहुँ मादक पदार्थ गरेर आउने शिक्षक भीम कार्कीमाथि कारवाही गर्न जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गरेको छ । हरेक दिन मादक पदार्थ सेवन गरेर विद्यालयको शैक्षिक वातावरण विगारेको आरोमा विद्यालय व्यवस्थापन समितिले कारवाही वा अन्यत्र सरुवा गर्न सिफारिस गरेको हो ।
बर्षौंदेखि विद्यालय व्यवस्थापन समितिको बैठकले मादक पदार्थ सेवन गरेर आउने, जुनसुकै समयमा विद्यार्थीलाई विदा दिने र पठान पाठन नगराउने गरे पछि कारवाहीका लागि सिफारिस गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । चैत ११ गते बैठकबाटै निर्णय गरेर १५ दिनभित्र समस्या समाधान नगरे व्यवस्थापन समितिले हटाउने चेतावनी सहितको पत्र जिल्ला शिक्षा कार्यालयमा बुधबार नै दर्ता गराइएको अध्यक्ष गणेश बहादुर कार्कीले बताए ।
यस अघि पनि कारवाही वा सरुवा गर्न माग गरिए पनि राजनीतिक संरक्षणमा जिल्ला शिक्षा कार्यालयले कारवाही नगरी संरक्षण गर्दै आएको थियो । उजुरीबारे जिल्ला शिक्षा कार्यालयले अहिले पनि केही गर्न नसक्ने बताएपछि अभिभावकहरु आक्रोशित भएका छन् । उक्त विद्यालयमा शिक्षकले राम्रो पठन पाठन नगरेपछि कक्षा ५ सम्म संचालनमा रहेको विद्यालय अहिले कक्षा ३ सम्म मात्र कक्षा सञ्चालनमा छ । अभिभावकहरुले बालबालिकाहरु विद्यालय पठाउन समेत छोडेका छन् ।
२२ जना विद्यार्थी भर्ना भए पनि अहिले १० देखी १२ जना मात्र आउने गरेका छन् । दुइ जना शिक्षकको दरबन्दी रहेपनि एक जना शिक्षक संधै मापसे गर्ने भएकाले विद्यालयका प्रधानाध्याक तुलसीराम दाहालले कक्षा सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार  ११ : ५५ बजे