राष्ट्रपति इन्द्रजात्रामा

0 Shares

काठमाडौँ, ३० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राका अवसरमा आज वसन्तपुर दरबार क्षेत्र सरिक भई ‘जीवित देवी’कुमारीको दर्शन गर्नुभएको छ ।

वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनाका साथै मुख्य पण्डितबाट प्रसाद ग्रहण गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको अवलोकन समेत गर्नुभयो । उहाँले स्थानीय नेवारी झाँकी, पहिरन र नृत्य प्रस्तुत अवलोकन गर्नुभएको थियो ।

समारोहमा प्रधानन्यायाधीश, सभामुख, कावा प्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न झाँकी तथा सांस्कृतिक बाजागाजाका साथमा नृत्य प्रस्तुत गरिएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्न हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत इन्द्रजात्रा पर्व मनाइन्छ ।

यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार