विश्व वरियतामा नेपालको दुई स्थान सुधार

0 Shares

काठमाडौँ, ३० भदौ । विश्व फुटबल महासङ्घ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औँ स्थानमा उक्लिएको छ ।

फिफाले आज सार्वजनिक गरेको वरियतानुसार अघिल्लो महिना १८८ औँ स्थानमा रहेको नेपालले दुई स्थान सुधार गरेको हो । विश्वमा दुई स्थान बढे पनि दक्षिण एसियाली क्षेत्रमा भने नेपाल चौथो स्थानमा कायम छ । दक्षिण एसियाली मुलुकमा भारत १४८ औँ वरियातासहित शीर्ष स्थानमा छ । भारतले चार स्थान सुधार गरेको हो । केही समयअघिसम्म दक्षिण एसिया क्षेत्रमै रहेको अफगानिस्तानभन्दा भारत एक स्थान माथि छ । त्यस्तै माल्दिभ्स १६५औँ स्थानमा छ । उसले एकै पटक नवौँ स्थान सुधार गरेको हो ।

त्यसैगरी भुटान तीन स्थान माथि उक्लँदै १८९औँ स्थानमा छ भने श्रीलङ्का र पाकिस्तान क्रमशः १९३ र १९४ औँ स्थानमा यथावत् छन् । फिफा वरियाताका शीर्ष दुई स्थानमा अर्जेन्टिना र बेल्जियम यथावत् छन् । विश्वविजेता जर्मनी तेस्रो स्थानमा उक्लँदा कोलम्बिया चौथो स्थानमा झरेको छ ।

पाँच पटकको विश्व विजेता ब्राजिल पाँच स्थान सुधार गर्दै वरियताको पाँचौँ स्थानमा पुग्न सफल भएको छ । वरियताको छैटौँ, सातौँ, आठौँ र नवौँ स्थानमा क्रमशः कोपा अमेरिका विजेता चिली, युरोकप विजेता पोर्चुगल, फ्रान्स र उरुग्वे छन् । यीमध्ये चिली, पोर्चुगल र फ्रान्स एक एक स्थान झरेका हुन् भने उरुग्वेले तीन स्थान सुधार गरेको हो । त्यस्तै एक स्थान सुधार गर्दै वेल्स शीर्ष १० भित्र पर्न सफल भएको छ । फिफाले हरेक महिना विश्व वरियता सार्वजनिक गर्ने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार