६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

नयाँ वर्षको अभियानः साहित्य यात्रा सगरमाथासँगसँगैमा ७ सर्जक पुरस्कृत

साहित्य लेखनमा अब आलोचना मात्रै होइन समाधान देखाउनु पर्नेमा जोड



ओखलढुंगा । साहित्य यात्रा सगरमाथा सँगसँगै अन्र्तगत नयाँ वर्ष ०७५ साल बैशाख १ गते दिनभर ओखलढुंगा र सोलुखुम्बुको संगमस्थल गौरीटापमा रचना बाचन प्रतियोगिता भयो । प्रगतिशील लेखक संघ ओखलढुंगाको आयोजनामा भएको प्रतियोगितामा नेपाली साहित्यका दुई विधा कविता र गजल प्रतियोगिता भएको थियो ।
कविता तर्फ शम्भु राई–सोलुखुम्बु प्रथम, कुम्भराज राई–ओखलढुंगा द्वितीय, डा. भेषनाथ खनाल तृतीय र मोहन धमलाले सान्वतास्थान हासिल गर्नुभएको छ ।

गजल विधातर्फ विकास राई प्रथम, जीवन खत्री द्वितीय र कृष्ण चौलागाइले तृतीय स्थान हासिल गर्नुभएको छ । पुरस्कृत हुने सर्जकहरुलाई प्रगतिशिल लेखक संघ, राष्ट्रिय समितिका अध्यक्ष प्राज्ञ मातृका पोखरेलले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमश पाँच हजार, तीन हजार र एक हजार नगद पुरस्कार प्राप्त गरेका छन् । खुल्ला प्रतियोगितामा प्रतियोगी र अप्रतियोगि गरी दुई दर्जन बढी सर्जकहरु सहभागी थिए ।
प्रतियोगितामा सहभागी सर्जकहरुले राष्ट्र र राष्ट्रियता, विकास र समृद्धिका साथै विकृति, विसंगति विरुद्ध चोटिलो प्रहार गरिएको भाव झल्किने रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रगतिवादी साहित्यकार सीता शर्माले साहित्य यात्रामा सहभागी सर्जकहरुले देश प्रेम र सामाजिक विकृति विरुद्ध चेताना भर्ने सिर्जनाहरु प्रस्तुत गरेको प्रतिकृया दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख वक्ता प्राज्ञ मातृका पोखरेलले साहित्य यात्रामा प्रस्तुत सृजनाहरुले राजधानी र मोफसलको घेरा तोडेको बताउनुभयो । उहाँले अहिलेसम्मको लेखन आलोचना र विरोधमा केन्द्रित भएको भन्दै पोखरेलले अबको लेखन यात्रा समाधानको बाटो देखाउने हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा चर्चित लेखक बाबा बस्नेत, स्थानीय स्रष्टा धनराम श्रेष्ठ लगायतका सर्जकहरुले रचना बाचन गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७५, आइतबार  ४ : २५ बजे