६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

महोत्तरीमा हावाहुरीले १ जनाको मृत्यु १०० भन्दा बढी घर भत्किए



बर्दिवास । महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको छ । मंगलबार अबेरसाँझ चलेको हावाहुरीमा परी जिल्लाको भंगाहा नगरपालिका ५ सीतापुर धतियाटोलमा एकजनाको मृत्यु भएको र १०० भन्दा बढी घर भत्किएका छन् ।

हावाहुरी चलेको बेला धतियाटोलको ठूलो वरको रुखमुनि छलिन बसेका एकजना बटुवाको रुख ढल्दा च्यापिएर मृत्यु भएको छ । वरको रुखले थिचिएको शव क्रेनले रुख हटाएर निकालेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक अवधलाल साहले जानकारी दिए । नाम, वतन खुल्न नसकेका करीब ४० वर्षीय पुरुषको शव अहिले परीक्षणका लागि जलेश्वर अस्पताल पठाइएको सीतापुर प्रहरी चौकीले जनाएको छ ।
भंगाहा नगर क्षेत्रमा मंगलबार ६ः३० बजेतिर चलेको बेगको हावाहुरीले १०० भन्दा बढी घरमा क्षति पु¥याएको छ । भंगाहा–४, रामनगरस्थित राष्ट्रिय आधारभूत विद्यालय अधिनस्थ वन क्षेत्रका ३०० भन्दा बढी रुख ढलेका छन् । ढलेका रुखले त्यहाँका वीरबहादुर मण्डल, कञ्चा राय थारु र बालगोबिन महराको घर ढालेको प्रनानि साहले जानकारी दिए ।
बेगसहितको हावाहुरी रोकिनासाथ सीतापुर प्रहरी चौकी र भंगाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पको टोलीले तत्काल ढलेको रुखले थिचिएको शव, भत्किएका घरमा रहेका ससाना नानीहरु र घरका परिवारजनलाई सुरक्षित ठाउँमा पु¥याएको थियो ।
जिल्लाका अन्य भेगमा पनि हावाहुरीले बालीनाली क्षति गरेको छ । बेगसहितको हावाहुरी थामिएपछि पानी परेको थियो । हावाहुरीले कैयन ठाउँका बिद्युत पोल ढाल्दा मंगलबार साँझदेखि नै जिल्लाका अधिकांश बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जिल्लाका विभिन्न भेगमा हावाहुरीले पु¥याएको क्षति विवरण संकलन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार  २ : ४२ बजे