चितवन, गैंँडा मर्ने क्रम बढेपछि निकुञ्ज विभागले यसबारे अनुसन्धान गर्न थालेको छ । सन् १९९८ यता चितवन राष्ट्रिय निकुञ्जमा अकालमा २६९ वटा गैंँडा मरेकामा पछिल्ला वर्षमा यो संख्या बढ्दै गएपछि अध्ययन शुरु गरिएको हो ।

समितिका संयोजक पौडेलका अनुसार निकुञ्जका प्राविधिकसँग पनि जानकारी लिइएको र निकुञ्जमा देखिएका तथा संकलन गरिएका तथ्यांकलाई केलाएर प्रारम्भिक प्रतिवेदन यसैसाता विभागलाई दिने बताउनुभयो । मृत्यु भएका गैँडाका नमूनाको सामान्य परीक्षण नेपालमै हुने तर थप परीक्षण गर्नुपरे बाहिर पठाइने उहाँले बताए ।
गैँडाको संख्या थपिँदै जाँदा वासस्थानको व्यवस्थापन कमजोर हुने, रोग लाग्नसक्ने हुँदा समयमै सजगता अपनाउन अध्ययन थालिएको हो भन्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले धेरैजसो गैँडा जुँधेर मरेको पाइएको जानकारी दिए। दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, बुढो भएर पनि गैँडा मर्ने गरेका छन् ।
पानीका स्रोत घट्दै जानु, माइकेनिया लगायतका अतिक्रमित झारका कारण घाँसे मैदान साँघुरिँदै जानु, रोगव्याधी लाग्नसक्ने हुँदा समयमै उच्च सतर्कता अपनाउनुपर्ने भएको जानकारी दिंदै उहाँले गतवर्ष मरेका गैँडामध्ये चार वटामा रोग देखिएको तर रोगको बारेमा विस्तृत जानकारी आइनसकेको बताए।

यसअघि कालगतिकै कारण सन् २००० मा २८ वटा, सन् १९९९ मा १९ वटा र सन् २००३ मा १७ वटा गैँडा मरेका थिए । सन् २०११ मा १६ वटा गैँडा मरेका थिए भने अन्य वर्षमा सात वटादेखि १४ वटासम्म गैँडा मरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यही बीस वर्षमा चोरी शिकारीका कारण १७४ गैँडा मारिएका थिए । सबैभन्दा बढी सन् २००२ मा ३६ वटा, सन् २००३ मा ३० वटा, सन् २००५ मा १६ वटा र सन् २००० मा १५ वटा गैँडा चोरीशिकारीका कारण मारिएका थिए ।
पछिल्ला वर्षमा चोरी शिकारीका कारण कम गैँडा मरेका छन् । सन् २०११ यता पाँच गैँडा मात्रै चोरीशिकारीले मारेका थिए । चोरी शिकारी नियन्त्रण हुँदै जाँदा पनि गैँडा मर्ने क्रम बढेपछि चिन्ता थपिएको हो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छन् ।







