२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

‘किरात’ प्रदेश नामाकरण गर्न माग गर्दै यायोक्खाले बुझायो ध्यानाकर्षणपत्र [भिडियो सहित]



काठमाडौं । किरात राई यायोक्खाले प्रदेश नं. १ को नाम ‘किरात’ प्रदेश राख्न माग गर्दै नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई ध्यानाकर्षणपत्र बुझाएको छ । सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यलयमा पुगी उपनेता नेम्बाङलाई यायोक्खाका पदाधीकारीले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानकर्षणपत्र बुझ्दै उपनेता नेम्बाङले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार संविधानत प्रदेश सरकारलाई नै दिइएकाले प्रदेशमा गएर समन्वय गर्न सुझाव दिए । ‘प्रदेशसभाका मान्यहरुसँग छलफल र समन्वय गरी प्रदेशको नामाकरण गर्न अनुरोध गर्नुस’ उपनेता नेम्बाङले भने ।
किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राईले प्रदेश १ मा किराती समूदायको ऐतिहासिक भूमि र जनसंख्या भएकाले बहुपहिचानको आधारमा किरात प्रदेश नामाकरण गर्न सान्दर्भिक भएको बताए । किरात जात विशेष नभई पहिचान भएकाले प्रदेश १ को नाम किरात राख्दा पहिचानको सम्मान हुने समेत राईले बताए ।
https://youtu.be/ghROpVz6_m4
ध्यानाकर्षणपत्र किरात राई यायोक्खाका महासचिव जीवन हाताचोले पढेर सुनाएका थिए । ध्यानाकर्षणपत्र बुझाउन यायोक्खाका पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार  ११ : २५ बजे