इन्द्र दहमा भक्तजनको विशेष घुइँचो

0 Shares

काठमाडौँ, ३१ भदौ । काठमाडौँको उत्तर–पश्चिममा रहेको इन्द्र दहमा स्नान गर्नका लागि भक्तजनको आज विशेष घुइँचो लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन त्यहाँ स्नानका लागि भक्तजनको मेला लाग्ने गर्दछ । गएराति हनुमानढोकाबाट विधि विधानपूर्वक ढोल र तरबार त्यहाँ पु¥याएपछि मेला सुरु भएको हो ।

काठमाडौँबाट करिब १३ किमी उत्तर–पश्चिमतर्फ पर्ने उक्त स्थानमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास छ । इन्द्रले आफ्नो माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको समयमा सोही दहमा स्नान गरेको विश्वास छ ।

स्थानीय वसन्तपुर आसपास क्षेत्रमा इन्द्रले फूल चोरी गरेको अभियोगमा त्यस क्षेत्रका बासिन्दाले सजायस्वरुप इन्द्रलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छोडेर वर्षमा एकपटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको विश्वास छ ।

इन्द्र दह एकता क्लबका अध्यक्ष रोशन दानीले इन्द्रजात्राको समयमा पर्ने सो मेलामा इन्द्र दह र इन्द्रजात्राका बीच केही सम्बन्ध रहेको बताउँदै त्यहाँ स्नान गरेमा चर्मरोग निको हुने, पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास रहेको बताउनुभयो ।

काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट समेत भक्तजन कोही स्नान गर्न त कोही घुम्ने उद्देश्यले मेला भर्न आउने गर्दछन् । साँझसम्म करिब ५० हजार भक्तजन सहभागी हुने बताइएको छ ।

अध्यक्ष दानीले सर्वसाधारणको स्नानका लागि बिहानैदेखि दह खुला गरिएकाले आज साँझसम्म खुला गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार