नेकपा गठन माओवादीको एमालेमा विलयः मोहन वैद्य

ओखलढुंगा । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी कताबाट बनेको नभइ माओवादीको विलय भएको टिप्पणी गरे । प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओखलढुंगा आउनुभएका वैद्यले एकता नभएर दक्षिणपन्थी अवसरवादी धारका मिलन भएको टिप्पणी गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव बैद्यले दुई पार्टीको एकिकरणबाट नेकपा बनेको नभइ माओवादीको एमालेमा विलय भएको उहाँको भनाइ छ । नेपालमा संसोधानवादी अवसरवादी धारको एकिकरण भएकाले अव क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्दै जनवादीक्रान्तिमा जाने आफ्नो कार्यदिशा रहेको बैद्यले प्रष्ट पारे ।
नयाँ जानवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने उनले बताए । यसका लागि विप्लव र मोहनविक्रम सिंहसँग एकताका लागि छलफल भइरहेको क्रान्तिकारी माओावदीले जनाएको छ ।
विगतको झापा आन्दोलनदेखि दस वर्षे जनयुद्ध परिस्थितिले जन्माएको परिघटना भए पनि ती सबै इतिहासलाई भुलेर अवसरवादीहरु सत्तामा गएको उनको आरोप छ । आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता एकातिर जेलमा भइरहँदा अर्कातिर तिनै पार्टीको नेता सरकारमा रहनु विचित्र भएको महासचिव वैद्यको भनाइ छ । वैद्यले बालकृष्ण ढुंगेललाई उदाहरण दिँदै अवसरवाद प्रस्ट भएको दावी गरे ।

माओवादीमा रहँदा बाबुराम, प्रचण्ड र आफूले राष्ट्रघाती सम्झौताको रुपमा लिएको अपर कर्णाली भारतसँग सम्झौता गर्नु लज्जास्पद भएको उहाँको भनाइ छ । ओलीको राष्ट्रवाद मोदीसँग एउटै भेषमा जनकपुरमा ओर्लेको देख्दै छर्लंग भएको भन्दै व्यंग्य गरे ।
संगठन सुदृढिकरण र जनपरिचालन अभियान अन्र्तगत प्रदेश स्तरीय प्रशिक्षणका लागि महासचिव वैघ, नेता सिपी गजुरेलसहित एक दर्जन पोलिटब्यूरो र केन्द्रिय सदस्यसहित ओखलढुंगा आएका छन् । प्रशिक्षण शनिवारसम्म चल्ने जिल्ला सेक्रेटरी पर्वतले बताए ।
फोटोः पत्रकार सम्मेलनमा मोहन वैद्य ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार