२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

भुकम्पले भत्किएका विद्यालय पुनः निमार्ण नहुँदा पठनपाठनमा समस्या


८ जेष्ठ २०७५, मंगलबार  

42
Shares

ओखलढुंगा । भूकम्पले भत्काएका ओखलढुंगाका विद्यालय भवन पुनः निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भुकम्पले क्षति पुगेको ३ वर्ष विते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि जस्ताका अस्थायी शिक्षण केन्द्रमा संचालन भइरहेका छन् । ती शिक्षण केन्द्रमा वर्षात्मा पानी पर्दा चुहिने, शिक्षण गर्न आवाज नसुनिने र गर्मीको समयमा पोल्ने भएकाले पठन पाठन अबरुद्ध हुँदै आएको छ ।
हिमाली क्षेत्रमा अत्याधिक चिसो र बेँसीमा गर्मीले अस्थायी शिक्षण केन्द्रमा पठन पाठन संचालन गर्न नसकिने जनकल्याण अधारभूत विद्यालय, पात्लेकी शिक्षिका मनिषा तामाङले बताइन् । ओखलढुंगामा भूकम्पले पूर्ण क्षति भएका २ सय ७६ र ४ सय ९४ विद्यालय आंशिक क्षति भएका थिए । ती विद्यालयका ८ सय २३ कक्षा कोठा पूर्ण क्षति भए पनि अहिले सम्म अधिकांश विद्यालयका भवन पुनः निर्माण भइ सकेका छैनन् ।
कक्षाकोठा अभावमा सिद्धिचरण नपा वडा नं. १ को तिनपिप्ले आधारभूत विद्यालय, मोलुंग गाउँपालिकाको जनकल्याण अधारभूत विद्यालय सहित जिल्लाका एक दर्जन विद्यालयले बहुकक्षा शिक्षण गर्दै आएका छन् । विद्यालयमा कक्षा कोठा अभाव भएपछि त्रिपालका शिक्षण केन्द्रमा पठन पाठन गराउन समस्या भएको शिक्षकहरुले बताएका छन् । त्रिपालका शिक्षण केन्द्रमा पढ्न नसकिने यसम माविका छात्रा मनिता खत्रीले गुनासो गरिन् । भत्किएका विद्यालयका कक्षा निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ भने कतिपय विद्यालयले जीर्ण कक्षा कोठामा जोखिमपूर्ण अवस्थामा कक्षा संचालन गरिरहेका छन् ।
अहिले शिक्षा कार्यालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ मार्फत ४७ विद्यालय निर्माणको चरणमा रहेका छन् भने विभिन्न संस्थाहरुले ३० भन्दा बढी विद्यालय निर्माण गरे पनि दुर्गम गाउँका विद्यालय अझै पुनः निर्माण भएका छैनन् । विद्यालयको पुनः निर्माण सुस्त हुनुमा प्राविधिक पक्ष हेर्ने निकायले अनुगमन र समन्वय प्रभावकारी नदेखिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
विभिन्न सरोकारवाला निकायले खबरदारी गरे मात्रै भत्किएका संरचना निर्माणको कामले गति पाउने सरोकारवालाहरुले बताएका छन् । मानववाद, सुशासन र सार्वजनिक जवाफदेहिताको वकालत गर्दै आएको संस्था सोच नेपालका प्रतिनिधी बिएन श्रेष्ठले ओखलढुंगामा पूर्वाधार निर्माण, शिक्षा क्षेत्रका नीतिगत समस्या र कार्यन्वयनको विषयमा सामुहिक पैरवी आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलबार  १० : ३८ बजे