अर्थाभावले क्षेत्रीय रङ्गशाला अलपत्र

0 Shares

पाँचथर, १ असोज । ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ ।

रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको अहिलेसम्म रु ३४ लाख ४० हजार रकम लगानी भइसकेको छ ।

रकम अभावले निर्माण सुस्ताएको उक्त रङ्गशालाको निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट रु ५० लाख उपलब्ध हुने प्रक्रिया अन्तिम चरणमा पुग्दा नेपालमा गत वर्ष वैशाखमा भूकम्प गएकाले सो रकम उपलब्ध सकेन । यसबाट पनि रङ्गशालाको काम अघि बढ्न नसकेको खलङ्गटार उमाविका शिक्षक शिवकुमार थाम्सुहाङले जानकारी दिनुभयो ।

खलङ्गाटार उमावि याङ्नामको स्वामित्वमा रहेको उक्त खेल मैदान याङ्नाम गाविसका सरोकार भएका सङ्घसंस्थाको परिकल्पनाबाट २०६४ साल फागुनदेखि निर्माण थालनी भएको हो ।

रङ्गशाला निर्माणका लागि पर्याप्त रकम जुटाउन नसक्दा निर्माण थालनी भएको एक दशक पुग्दा पनि पूर्णता दिन नसकिएको शिक्षक थाम्सुहाङले बताउनुभयो ।
रातो हाब्रे दिवसमा खेलकुद

विभिन्न विद्यालयका विद्यार्थीले सातौँ रातो हाब्रे दिवस मनाएका छन् । सङ्कटापन्न रातो हाब्रे पाइने जिल्लाका विभिन्न छ गाविसमा सो दिवस मनाइएको हो ।

रेड पान्डा नेटवर्क र दीपज्योति युवा क्लबले रातो हाब्रे सचेतनाका लागि विद्यालयमा गठन गरेको रुटसुट क्लबमार्फत विभिन्न क्रियाकलाप सञ्चालन भएको हो ।

शुक्रबार नौ विद्यालयमा सो दिवस मनाइएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले बताउनुभयो ।
संरक्षणमा बढीभन्दा बढी व्यक्ति एवम् सरोकार भएकाहरुलाई सहभागी गराई संरक्षण अभियान सफल पार्ने उद्देश्यले विसं २०६७ असोजतिरदेखि (सेप्टेम्बर महिनाको तेस्रो शनिबार)लाई अन्तर्राष्ट्रिय रातो हाब्रे दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा विसं २०६८ देखि यो दिवस मनाउँदै आइएको छ । यस वर्ष फलैचा, च्याङ्थापु, सिदिन, प्राङ्बुङ, मेमेङ र लुङ्रुपा गाविसका विद्यालयमा सचेतनामूलक अन्तक्र्रिया, वक्तृत्वकला प्रतियोगिता, खेलकुद गतिविधि तथा सांस्कृतिक कार्यक्रम गरी मनाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार