काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताएको छ ।

“एक्काइसौँ शताब्दी सूचनाको शताब्दी हो । सूचना प्रविधिमा भएको क्रान्तिलाई ठीक ढंगले बुभ्mन र जनतालाई ठीक ढंगले सञ्चार क्षेत्रले सम्प्रेषणको भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो, “एकता, बहस, संघर्ष, रुपान्तरणसहित नयाँ आधारको एकताबाट हाम्रो राजनीतिक कार्यदिशा र विचारलाई परिष्कार गरी समाजवादको लक्ष्यमा पुग्न एकमत भएका हौँ । अब हामीले पार्टीको बहुकेन्द्र नभई बलियो हेडक्वार्टर बनाउनुपर्छ ।” उहाँले शक्ति सन्तुलनको आजको अवस्थालाई हेर्दा समृद्धि हुँदै समाजवादको आधार गर्ने अहिलेको प्राथमिकता रहेकाले यही विचारका आधारमा संगठनको एकता गर्न आग्रह गरे।
सत्तामा गएपछि जनताको सेवक नभई मालिक जस्तो ठान्ने प्रवृत्तिका कारण पूर्वी युरोप र सोभियत सङ्घको कम्युनिष्ट सत्ता ढलेको उदाहरणबाट सिकेर आलोचनात्मक चेतका साथ जनतासँग जीवन्तरुपमा जोडिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकतासँगै मातहतका कमिटी र जनसंगठनको एकता छिट्टै भई देशव्यापी उत्साहको सञ्चार दिने तयारी भइरहेको बताउनुभयो । नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले चौतारी र सेन्टरबीच एकता प्रक्रियाले प्रगति हासिल गरेकामा सन्तोष व्यक्त गरे।

चौतारीका अध्यक्ष गणेश बस्नेतले दुवै संगठनका केन्द्रीय सदस्यको सुझावअनुसार एकताको तयारी भएको जानकारी दिए। सेन्टरका अध्यक्ष महेश्वर दाहालले दुई संगठनको एकताका लागि बिहीबार र शुक्रबार अलगअलग केन्द्रीय कमिटीको बैठक सन्पन्न गरी विधानबारे सुझाव संकलन भएकाले चाँडै एकता हुने बताए ।







