चितवन, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताए।
मंगलबारदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उहाँहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलले बताउनुभयो । सभापतिहरुले प्रदेशहरुमा छलफल गरी पार्टीको विधान, संगठन, निर्वाचनको मूल्याङ्कन गर्दै आ–आफ्ना धारणा राख्ने र यसले पार्टीलाई भविश्यमा कसरी सुदृढ बनाउने भन्ने विषयमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको प्रमाणित गराएको बताए। उहाँले भने “पार्टीलाई सुधार्नु प¥यो, संस्थागतरुपमा चलाउनुप¥यो, नियमसंगतरुपमा पार्टी अगाडि बढ्नुप¥यो ।” कार्यकर्ताको भावनाअनुसार पार्टी नचलेको भन्दै उहाँले अब पार्टीलाई संस्थागतरुपमा चलाउनुपर्नेमा जोड दिएको हो ।
नेतृत्वको कमजोरीका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको उहाँको भनाइ थियो । हेटौँडामा हुने सभापतिको भेलामा सहभागी हुन पौडेल र सिंह आज चितवन आएको हो ।