पार्टीलाई एकढिक्का बनाउनुपर्ने काँग्रेस जिल्ला सभापतिको सुझाव

42 Shares

हेटौँडा । नेपाली काँग्रेसको जिल्ला सभापतिको जारी राष्ट्रिय भेलामा आज सभापतिहरुले पार्टीलाई एकढिक्का बनाएर अधि बढाउनुपर्ने सुझाव दिएका छन् । मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको विधानलाई संघीयताको मर्मअनुरुप संशोधन गर्नुपर्ने एवं निर्वाचनका क्रममा उम्मेदवार उठाउँदा जनताको विश्वास जित्ने आधार भएको व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राखेका थिए ।

नेपाली काँग्रेस केन्द्रीय समितिद्वारा मंगलबारदेखि आयोजित राष्ट्रिय भेलामा पार्टी बझाङका सभापति हर्क जङ्गबहादुर सिंहले पार्टी्भित्र देखिएको अनुशासनहीनताले काँग्रेसका नायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति र पार्टीको आदर्शलाई आघात पुगेको उल्लेख गर्दै जनताले विश्वास गरेका नेता र कार्यकर्तालाई पार्टीले मूल्याङ्कन गर्नुपर्ने र भविष्यमा पार्टीको विधानलाई संशोधन गरी राष्ट्रिय राजनीतिमा काँग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।
सो भेलामा काँग्रेस सप्तरीका सभापति दिनेश यादव, सिराहका सभापति रामचन्द्र यादव र पर्साका सभापति अजय द्विवेदीले पार्टी संगठनलाई जनताको घरदैलोमा पुगेर दरिलो र प्रभावकारी बनाउन आज अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीको नेतृत्वले कसैलाई पाखा कसैलाई काखा नगरी निर्वाचनमा निष्पक्ष मूल्याङ्कन गरेर अघि बढेमा काँग्रेसले आगामी निर्वाचनमा जनताको विश्वास जित्ने धारणा व्यक्त गरे ।
उक्त भेलामा नेपाली काँग्रेस भोजपुरका सभापति नन्दमणि राई, सोलुका सभापति विनोदकुमार बस्नेत, रसुवाका सभापति पेम्बाछिरिङ लामा, सिन्धुलीका सभापति उज्ज्वल बराल, खोटाङका सभापति नरेश श्रेष्ठ, ताप्लेजुङका महिला सभापति लीला पोखरेल र काभ्रेका सभापति मधुप्रसाद आचार्यले नेपाली काँग्रेसले मुलुकमा संविधान र प्रजातन्त्रको संरक्षण गर्न प्रजातान्त्रिक शक्तिहरुको बीचमा समन्वय सहकार्य गर्दै जानुपर्ने र पार्टीभित्र देखिएका मनमुटावलाई त्यागको भावनाबाट अघि बढ्न आग्रह गर्दै राष्ट्रलाई अहिले संकट परेको बेलामा सत्ताका लागि हानथाप नगरी राष्ट्रको सार्वभौम र राष्ट्रिय अखण्डता जोगाउन काँग्रेसले अहिले संवेदनशील भएर एकढिक्का हुनु नै समयको माग रहेको सुझाव प्रस्तुत गरेका थिए ।
केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको मौजुदा विधानलाई संघीयताको ढाँचामा संशोधन गर्न र पार्टीको संगठनलाई दरिलो, जनमुखी र जनताप्रति जिम्मेवार बनाउनेतर्फ नेता र कार्यकर्ताको दृढता हुनुपर्ने भेलाका सभापतिहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।
उनले वक्ताहरुले दिएको सुझावलाई महासमिति भेला र केन्द्रीय समितिको बैठकमार्फत भविष्यमा पार्टीको विधान संशोधन र पार्टीको अनुशासनमा कडाइ गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार