इँटाभट्टाबाट उद्धार गरिएका बालबालिका विद्यालयमा

63 Shares

रोल्पा,गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेका छन् ।

विद्यालय बाहिर रहेका त्यस्ता बालबालिकामध्ये केहीलाई वैकल्पिक शिक्षा दिएर कक्षा ३ सम्म भर्ना गरिएको छ भने अधिकांश कक्षा १ मा भर्ना भई नियमित पठनपाठनमा लागेका छन् ।

जिल्लाको रुन्टीगढी, माडी, त्रिवेणी, सुनिल स्मृति गाउँपालिका र रोल्पा नगरपालिकामा ती विद्यार्थी विद्यालय बाहिर रहँदै आएका थिए । सेभ द चिल्ड्रेनले मानवअधिकार सचेतन केन्द्रसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेका ती स्थानीय तहमा विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेको बताइएको छ ।

गरिबी मुख्य कारण रहेका ती बालबालिकालाई नियमित विद्यालय जाने वातवारण बनाउन विद्यालय पोशाक, झोला, शैक्षिक सामग्री सहयोग गरिएको सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्रीले जानकारी दिए। उनीहरुका अभिभावकलाई समेत आयआर्जनका क्रियाकलापमा सहयोग गरेका छौँ, क्षेत्रीले भने ।

अघिल्लो शैक्षिक सत्रमा समेत ती स्थानीय तहमा विद्यालय बाहिर रहेका ४०० भन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गरिएको थियो । अघिल्लो वर्ष भर्ना भएका सबै बालबालिकाले नियमित अध्ययन गरिरहेको क्षेत्रीले जानकारी दिए।

विद्यार्थीको पठनपाठन सहजताका लागि आफूहरुले कार्यक्षेत्रका १३० विद्यालयमा कक्षा व्यवस्थापनसमेत गरेको मानवअधिकार सचेतन केन्द्र, रोल्पाले जानकारी दिएको छ ।

बालबालिकाको कक्षा व्यवस्थापनका लागि कार्पेट, कुशन, राउण्ड टेबुल, ¥याकलगायतका सामान सहयोग गरेका छौँ मानवअधिकार सचेतन केन्द्र, रोल्पाका शिक्षा अधिकृत प्रमिला घर्तीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार