पर्यटकीय बसपार्क जमल कान्तिपथबाट हट्ने

35 Shares

काठमाडौँ, तीन दशकदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका बस अब त्यहाँबाट हट्ने भएका छन् ।
राजधानीबाट देशका विभिन्न पर्यटकीय गन्तव्यमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक बोकेर आवतजावत गर्ने बसलाई सोह्रखुट्टेस्थित सडकमा सार्न लागिएको हो । बस आगामी असार १६ गते कान्तिपथबाट सोह्रखुट्टे सारिनेछ । गृह प्रशासन सुधार योजना बमोजिम गृहमन्त्रीको निर्देशनमा पर्यटक बसलाई अन्यन्त्र सार्न लागिएको हो ।

पर्यटक बसपार्कलाई स्थानान्तरणका लागि काठमाडौँ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा एउटा समिति गठन गरिएको थियो । जसमा ट्राफिक प्रहरी, सरोकारवाला निकाय र वडा प्रतिनिधि सहभागी थिए ।
काठमाडौँ महानगरपालिकाका सहसचिव ज्ञवालीले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाउन लागिएको बताए ।

“तत्कालका लागि सोह्रखुट्टे–चमती करिडोरको बाटोबाट पर्यटक बस सञ्चालन गर्ने निर्णय भएको छ” उहाँले भन्नुभयो, “सुन्दर महानगर निर्माणका लागि बसपार्क स्थान्तरणले राम्रो सहयोग पुग्ने छ । ”

कान्तिपथबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर काठमाडौँ–पोखरा र काठमाडौँ–सौराह जाने गर्दै आएका छन् ।

कान्तिपथबाट बसपार्क हटाएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने भएकाले क्षणिक समयका लागि सोह्रखुट्टेलाई प्रयोग गर्न दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले बताए।
गृहमन्त्रीको निर्देशनपछि पर्यटकीय सवारी साधनलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्ने महानगरपालिका र ट्राफिक प्रहरीको तयारी भए पनि व्यवसायीले नयाँ बसपार्क जान नमानेपछि अहिले अस्थायीरुपमा सोह्रखुट्टे करिडोरलाई सवारी छुट्ने स्थानका रुपमा प्रयोग गर्न लागेका हुन् ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल ९टिवान०का संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले बसपार्क हटाउँदा पर्यटकलाई आवतजावतमा समस्या हुने भएकाले ठमेल क्षेत्रवरपर नै सरकारले दिगो रुपका लागि बसपार्क निर्माण गरिदियोस् भन्ने हाम्रो माग हो भने।
सरकार, महानगरपालिका र वडाले इच्छा देखाए ठमेल आसपासको क्षेत्रमा पर्यटकीय बसपार्क निर्माण गर्न सकिने उहाँको भनाइ थियो । मुलुकको पर्यटन विकास गर्न पर्यटकीय सवारी साधनका लागि बेग्लै बसपार्क बनाउनुपर्ने अध्यक्ष आचार्यले बताउनुभयो । मुलुकको विकासका लागि पूर्वाधार महत्वपूर्ण कुरा भएको उहाँको भनाइ थियो ।

हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् ।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म कान्तिपथमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका र रातिको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार