सोलुखुम्बु दुर्घटना : दुई महिना पनि टिकेन खुसी

Facebook Debugger

खोटाङ । धेरैजसो युवायुवतीको अन्तिम धोको हुन्छ सरकारी जागिर खाने, परिवारलाई सुख सयलकासाथ पाल्ने । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी २४ वर्षीया कोपिला बस्नेत कार्कीलाई पनि लोकसेवा मोहले नछुने कुरै भएन । त्यही भएर श्रीमान प्रकाश कार्कीसँग कोपिलाले मरिमेटेर लोकसेवाको तयारी गरिन् । नभन्दै सरकारी जागीरमा प्रवेश गर्नका लागि मरिमेटेर लोकसेवा तयारी गरेका कोपिला र प्रकाशले गत बैशाखमा एकैसाथ वन रक्षकमा नाम निकाले । मेहनत गरे अनुसार श्रीमान श्रीमती दुबैले नै सरकारी जागिरमा नाम निस्कँदा परिवारमा खुसी छायो । वर्षौँको मेहनतले सार्थकता पाउँदा कार्की दम्पत्ती दंग थिए । तर, उनीहरुको त्यो खुसी दुई महिना पनि टिकेन । सोलुखुम्बुमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा कोपिलाको मृत्यु भएको छ ।
नेचासल्यान गाउँपालिका–२ सल्यानबाट सल्लेरी जाँदै गरेको को १ ज १८६० नम्बरको जीप दुर्घटना हुँदा कोपिला सहित ७ जनाको मृत्यु भएको हो । जीपमा सवार ७ जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिक भएको जीप दुर्घटनामा ६ जनाको घट्नास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूले जनाएको छ । दुर्घट्नामा कोपिलासहित ओखलढुंगा माम्खाका गाडी मालिक ४२ वर्षीय श्यामकुमार राई, उदयपुर शिरिसेका जीप चालक २१ वर्षिय कुसाङ तामाङ, सिराहका ३६ वर्षीय शिवकुमार यादव, सोलुखुम्बु नेचासल्यान–२ सल्यानका ३५ वर्षिया उर्मिला वास्तोला र सोही ठाउँकी २५ वर्षिया सुशीला खड्काको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी नेचासल्यान–२ की अन्दाजी ८ वर्षीया बालिका सुस्मा खड्काको फाप्लुमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए । सुस्मा सुशीलाकी बहिनी हुन् ।
जीप सडकबाट करिब एक हजार मिटर तल भीरमा खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । नेचासल्यान गाउँपालिका पार गरेर सोलुदुधकुण्ड नगरपालिकाको तिङ्ला प्रवेश गर्नेक्रममा जीप पल्टिएको हो । ‘वरपर कोही नभएको र कोही नबाँचेकाले दुर्घट्नाको कारण खुल्न सकेको छैन,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘जीप व्याक भएको देखिन्न । सिधै भीरबाट उँदो खसेको देखिन्छ । यही कारणले दुर्घटना भएको भन्न गाह्रो छ ।’
भर्खरै मात्र निजामती सेवा प्रवेश गरेकी कोपिला जिल्ला वन कार्यालय सोलुखुम्बु अन्तर्गत सल्लेरीमा र प्रकाश नाम्चेमा खटिएर सरकारी जागीरे जीवन बिताउन सुरु गरेका थिए । कोपिला र प्रकाशको ४ वर्षकी छोरी छन् । निजामती सेवामा प्रवेश गर्नुअघि कार्की दम्पत्ती खाल्लेमै बसिरहेका थिए । वन रक्षकमा नाम निस्किएपछि उनीहरु आ–आफ्नो कार्यक्षेत्रमै बसिरहेका आफन्त दिनराज कार्कीले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार