मानव अधिकार तथा शान्ति समाजद्वारा डा केसीको रिहाइको माग

49 Shares

काठमाडौँ, मानव अधिकार तथा शान्ति समाजले सत्याग्राही डा गोविन्द केसीलाई अविलम्ब रिहाइ गर्न माग गरेको छ ।

समाजका अध्यक्ष गंगाधर अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा १५औँ पटक अनशनका क्रममा जुम्ला पुग्दा शनिबार बाटोबाटै प्रहरीले पक्राउ गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

न्यायको पक्षमा आवाज उठाउने सत्याग्राहीप्रति शान्ति समाजले सद्भाव र ऐक्यबद्धता प्रकट गर्दै सत्याग्रहीलाई निर्मम तवरले नियन्त्रणमा लिइनुलाई समाजले क्रूरता ठानेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्र सुधार लगायतका माग राखी पटक पटक अनशन बस्दै आउनुभएका डा केसीको शीघ्र रिहाइ गर्नुपर्नेमा जोड दिँदै सरकारका पछिल्ला निर्णयले अहिंसा र सत्याग्रहीको लोकतान्त्रिक अधिकारप्रति सरकार क्रूर हुँदै गएको विज्ञप्तिमा भनिएकोे छ ।

लोकतन्त्रमा शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रता र सद्भावपूर्ण विचार अभिव्यक्तिको स्वतन्त्रता लगायतका संवैधानिक अधिकारका विरुद्ध पछिल्लो समय भएका सरकारी निर्णयले नागरिक स्वतन्त्रतामा अवरोध पुगेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तोकिएको प्रदर्शनस्थलबाहेक अन्यत्र धर्ना र प्रदर्शन गर्न बन्देज गरी शान्तिपूर्वक भेला हुन पाउने नागरिकको मौलिक हकप्रति सरकार अनुदार बन्दै गएकोप्रति समाजले चासो व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार