विश्वकप सेमिफाइनल खेल आज, फ्रान्स र बेल्जियमबीच भिड्दै

175 Shares

काठमाडौं । विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबार (आज) बाट शुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुने छ ।

फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो ।
बेल्जियम र फ्रान्सबीच पहिलो प्रतिस्पर्धा मे १९०४ मा ब्रसेल्समा भएको थियो । यो प्रतिस्पर्धा ड्र भएको थियो । त्यसबेलादेखि अहिलेसम्म अन्तराष्ट्रियस्तरमा दुवै टिम ७३ पटक प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये बेल्जियम ३० पटक र फ्रान्स २४ पटक विजयी भएका छन् । १९ खेल भने बराबरी भएको थियो ।

अन्तराष्ट्रिय खेलमा भने यी दुई टिम ३ पटक भिडेका छन् र तीनवटै खेलमा फ्रान्सले वाजी मारेको छ ।
एम्बाप्पे, पवार्ड र हर्नान्डेजमाथि नजर
जारी विश्वकपमा बेल्जियमले पाँच खेल खेलेको छ र सबै खेलमा विजयी भएको छ । यसअघि कुनै पनि विश्वकपमा लगातार यति धेरै जित निकाल्न बेल्जियमले सकेको थिएन । बेल्जियमका ९ खेलाडीले गोल गरेका छन् । सबैभन्दा धेरै गोल गर्नेमा पनि शीर्ष स्थानमा छन् ।
यसैगरी फ्रान्स पनि जारी विश्वकपमा अपराजित छ । यसअघि फ्रान्स १९५८, १९८२, १९८६, १९८८ र २००६ को विश्वकपमा पनि सेमिफाइनलसम्म पुगेको थियो । मंगलबारको खेलमा सबैको नजर बेल्जियमको गोलकिपर कोर्टियस र फ्रान्सका ह्युगो लोरिसमाथि रहेको छ । त्यसो त महंगा र कान्छा खेलाडी फ्रान्सका एम्बाप्पेप्रति पनि धेरैको नजर रहने छ । फ्रान्सलाई विश्वकपमा छैठौं पटक सेमिफाइनलसम्म पु¥याउन १९ वर्षे फरवार्ड किलियन एम्बाप्पेको अहम भूमिका छ ।
बेन्जामिन पवार्ड र लुकास हर्नान्डेजको जोडीले पनि जारी विश्वकपमा शानदार प्रदर्शन गर्दै आएको छ । २२ वर्षका यी दुवै खेलाडीमा केबल १०–१० अन्तराष्ट्रिय म्याच खेलेको अनुभव छ ।
यद्यपि ओलिभर जिरोडले विश्वकपमा अहिलेसम्म एउटा पनि गोल गर्न सकेका छैनन् तर बललाई आफ्नो कब्जामा राखिराख्ने उनको क्षमताले टिमलाई फाइदा नै भएको मान्न सकिन्छ ।
जिरोडलाई फ्रान्सका दिग्गज खेलाडी जिनेदिन जिदानलाई उछिन्न केबल एक गोलको आवश्यकता छ । फ्रान्सको टप स्कोररको सूचीमा जिनेदिन जिदान र जिरोड समान ३१ गोलका साथ बराबर स्थानमा छन् । थिएरे हेनरी ५१ गोलसहित शीर्ष स्थानमा छन् ।
थोमस मैदान बाहिर, बेल्जियमलाई रोक्न चुनौती
कोच रोबर्टो मार्टिनेजको कार्यकालको शुरुआतमा बेल्जियम घरेलु मैदानमा स्पेनसँग २–०ले हारेको थियो । त्यसपछि बेल्जियम २४ खेलमा अपराजित छ । यस क्रममा २३ खेलमा ७८ गोल बेल्जियमको तर्फबाट भएको छ । एक खेलमा भने गोल गर्न बेल्जियमले सकेन ।
फ्रान्सका पूर्व स्ट्राइकर थिएरे हेनरी अहिले बेल्जियमका सहायक कोच छन् । बेल्जियमलाई डिफेन्डर थोमस मेनुयरको अनुपस्थितिमा फ्रान्सको सामना गर्नुपर्ने छ । उनले बेल्जियमलाई आक्रामक बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
ब्राजिलका नेइमारलाई लडाएका कारण मेनुयरलाई दोस्रो पहेंलो कार्ड दिँदै रेफ्रीले मैदान बाहिर पठाइदिएका थिए । त्यसैले उनी सेमिफाइनलमा फ्रान्सविरुद्ध खेल्न पाउने छैनन् ।
बेल्जियमको स्टार फरवार्ड एडन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास गर्न सकिन्छ । जारी विश्वकपमा उनको खेलले धेरैलाई प्रभावित बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार