अस्पतालको सटर भाडा विवाद अदालतमा पुग्यो

Facebook Debugger

बुटवल, लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतसम्म पुगेको छ ।

व्यवसायी पुष्कर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खान र बुद्धिबहादुर ज्ञवालीले टेण्डर खोल्नुपर्ने अन्तिम समयमा स्थगित गरिएको भन्दै उच्च अदालत तुल्सीपुर, बुटवलमा निवेदन दर्ता गराएका छन् ।

व्यवसायीको निवेदनमाथिकोे सुनुवाइपछि अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न उक्त अस्पताल विकास समितिका साथै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट, प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा आदेश जारी गरेको छ ।

उक्त अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले निवेदकको दाबीअनुसार अन्तरिम आदेश नदिए पनि दुवै पक्षलाई साउन ९ गते छलफलका लागि अदालतमा लिखित जवाफसहित उपस्थित हुन भनेको हो ।

उक्त अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले बोलपत्रको विषयमा सल्लाह नगरी स्थगन गरेकोे आरोप लगाएको थियो भने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले अध्यक्षले लगाएको आरोप निराधार भएको र उक्त विवाद अदालतमा पुगेकाले अदालतको फैसला अन्तिम हुने जानकारी दिए।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निजी सचिवालयले, लुम्बिनी अञ्चल अस्पताललाई पत्राचार गर्दै व्यावसायिक सटरको टुङ्गो प्रदेश सरकारबाट नै लगाउन उचित हुने निर्देशानुसार टेण्डर स्थगित भएको थियो ।

देश प्रादेशिक संरचनामा अगाडि बढिरहेको अवस्थामा अञ्चल अस्पतालबाट सञ्चालन गर्ने, सेवा थप गर्ने र आधिकारिक सेवा प्रवाह गर्ने दायित्वसमेत सम्बन्धित प्रदेश सरकारमा स्वतः जाने हुँदा प्रक्रियामा रहेको सटरको टेण्डर प्रदेश सरकारको समन्वयनमा गर्न अस्पताललाई भनिएको पत्रमा उल्लेख छ ।

विवादास्पद सो व्यावसायिक सटरमा अहिले पनि खासगरी औषधि व्यवसायीलगायतले महँगो पैसा तिरेर मेडिकललगायतका पसल सञ्चालन गर्दै आएका छन् । उनीहरुले रु ५० हजारदेखि रु तीन लाख ५० हजार मासिक भाडा तिर्दै आएका छन् । करीब ७० व्यावसायिक सटरका विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार