काठमाडौँ, २ असोज । सरकारले संविधान दिवसका अवसर पारेर विभिन्न जेलमा रहेका ५३७ जना कैदीको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले ४० प्रतिशत कैद मिनाहा गरिसकेको र आचरण सुधार गरेका कैदीको कैद मिनाहा गर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । उनीहरुको नाम भोलि सार्वजनिक गरिने उनले बताए ।
यसैगरी बैठकले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा र अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कामु सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

विभिन्न सरकारी उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने, नेपाल औषधि लिमिटेडलाई सरकार आफैँले सञ्चालन गर्ने विषयमा बैठकमा सैद्धान्तिक सहमति भएको उपप्रधानमन्त्री महराले जानकारी दिए ।
भारत भ्रमणबारे बैठकमा जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहालको आफ्नो भारत भ्रमणको उपलब्धिबारे मन्त्रिपरिषद्को आजको बैठकमा जानकारी गराएको उपप्रधानमन्त्री महराले बताए ।
भ्रमणमा भारतीय पक्षले भव्य स्वागत र सम्मान गरेको जानकारी दिँदै दुई देशबीच विश्वासको वातावरण बनाउन र भारतीय जनताको मन जित्न भ्रमण सफल भएकोे संश्लेषण प्रधानमन्त्रीले गर्नुभएको उपप्रधानमन्त्री महराले जानकारी दिए ।
भ्रमणका क्रममा भारतका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेतासँग भेटवार्ता गरेको, भारतीय बुद्धिजीविसँग अन्तक्र्रिया गर्नुका साथै भारतीय व्यापारीसँग भेटघाट गरेको प्रधानमन्त्रीले बैठकमा जानकारी दिएका थिए ।
उपप्रधानमन्त्री महराले भने, “भ्रमणका क्रममा तराईको हुलाकी राजमार्गको पहिलो खण्ड सम्पन्न गर्नका लागि भारतसँग सम्झौता भयो, त्यसमा केही नेपालले लगानी गर्ने र केही भारतले सहयोग गर्ने उल्लेख छ । त्यस्तै दोस्रो खण्डका निम्ति सहयोग अगाडि बढाउने सैद्धान्तिक सहमति भएको छ ।”
त्यसैगरी भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले दिने भनी यसअघि नै प्रतिबद्धता व्यक्त गरेको रकमका विषयमा र ढल्केबरको विद्युत् प्रसारण लाइनको क्षमता विस्तार विषयमा भ्रमणका क्रममा दुई देशबीच सम्झौता भएको प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई जानकारी दिए । रासस