रोपाईका बेला देशमा रासायनिक मलको अभाव

7 Shares

राजविराज । जिल्लामा धान रोपाइँको क्रम चलिरहेका बेला अहिले रासायनिक मलको अभाव भएको छ । साउनको दोस्रो सातासम्ममा समेत पर्याप्त वर्षा नहँुदा किसान मारमा परेका छन् भने चर्को घाम र प्रचण्ड गर्मीका कारण धानको बीउ सुक्न थालेको छ ।

मोटर, पम्पिङसेटको भरमा अहिले धान रोपाइँ भइरहेको अवस्थामा समयमा पानी नपरेका कारण धान खेतमा धाँजा समेत फाट्ने क्रम बढेको किसानको गुनासो छ ।

धानबाली लगाउने समय बित्नै लाग्दा यसपालि खडेरी हुने हो कि भनी चिन्ताले सताउन थालेपछि यहाँका किसान चिन्तित देखिएको हनुमानगर कंकालनी नगरपालिका–२ लाल माझीले बताए ।

खेत रोप्न नपाएको पीडा खेपिरहेका किसानलाई अहिले मलको अभावले पनि साताएको उहाँको गुनासो थियो । मलखादसमेत नपाउँदा उनीहरुलाई खेती गर्ने कार्य पहाड झैँ लाग्न थालेको अर्का कृषक हरिशंकर विश्वासले बताए ।

मलखाद लिने क्रममा पञ्चायती शासनकालदेखि अहिलेसम्म प्रहरीको कुटाइ खानुपर्ने अवस्थामा परिवर्तन नआएको पीडित किसानको गुनासो छ ।

भोट दिएर जिताएका जनप्रतिनिधि पनि किसानको समस्याप्रति गम्भीर नभएको कञ्चनरुप नगरपालिका–१२ का किसान हरि सरदारले बताए । वर्षा नभइरहेको अवस्थामा वैकल्पिक माध्यमबाट खेती गर्ने उद्देश्यले मल लिन दैनिक राजविराज धाउँदा धाउँदै थाकिसकेको उहाँले दुःखेसो पोखे ।

अर्का कृषक श्यामसुन्दर खड्काले आफ्नो पिडा सुनाउनुभया,े “यहाँ त पैसा तिरेर पनि मल पाउन गाह्रो छ, अब त लाग्छ खेती गर्न नै छाडिदिउँ तर छाडिदिउँ भनेपनि वर्षभरि बालबच्चाको भरणपोषण कसरी गर्ने भनी चिन्ताले सताइरहन्छ ।”
कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्थामार्फत सप्तरीका किसानलाई रसायनिक मल उपलब्ध गराउँदै आएको छ । सुपथ मूल्यमा बिक्री गर्ने भनी लगिएका रसायनिक मल सहकारी संस्थाले मनपरि मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको उहाँको भनाइ थियो । यति बेला तराई मधेशमा धान रोपाइँ गर्न चटारो रहेको मौकाको फाइदा उठाउँदै सहकारीले डिएपी, युरिया र पोटास मलमा निर्धारित मूल्यभन्दा प्रति बोरामा रु ४०० देखि ६०० सम्म बढी मूल्यमा बिक्री गर्ने गरेको पीडित किसानको आरोप थियो ।

रोपाइँको बेला डिएपी, युरिया र पोटास गरी झण्डै १५ हजार मेट्रिक टन रसायनिक मल आवश्यक भएपनि कृषि सामग्री केन्द्रितले आपूर्ति नगर्दा जिल्लामा रसायनिक मलको अभाव भएको जिल्ला सहकारी संघले जनायो ।

जिल्ला सहकारी संघका प्रबन्धक रमेशकुमार गुप्ताले कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा जिल्लामा हालसम्म दुई हजार मेट्रिक टन रसायनिक मल मात्रै वितरण गर्न सकिएको बताए ।

जिल्लास्थित कृषि सामग्री केन्द्र लिमिटेडले शुरुमा डिएपी मल केही अभाव रहे पनि युरिया, डिएपी र पोटास गरी आठ हजार मेट्रिक टन जिल्लाका सहकारीलाई वितरण गरेको दाबी थियो ।

५० प्रतिशत जग्गा बाँझै

साउनको दोस्रो सातासम्ममा सप्तरीमा ५० प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा र दुई सता अगाडि वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीका कारण खेतीयोग्य जमीन डुबानमा परेकाले पनि जिल्लामा ५० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जानाएको छ ।

जिल्लामा उचित सिँचाइको अभावसँगै अकासे पानीको भरमा यहाँ सधैँ हुने खेती असार बितिसक्दासम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भगीरथ यादवले बताउनुभयो ।

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये असारको अन्तिमसम्म १७ हजार ५०० हेक्टर जमीनमा मात्र धान रोपाइँ भएको उहाँको भनाइ थियो ।

मुलुककै पुरानो नहरका रुपमा रहेको चन्दर नहर जीर्ण र जिल्लामा रहेको अन्य नहरमा खेतीको समयमा पर्याप्त पानी नआउनाले यहाँ धान रोपाइँमा ढिलाइ हुने गरेको कृषकको गुनासो थियो ।

त्यस्तै कोशी पश्चिमी नहर वितरण प्रणालीको क्षमता १३ हजार ३०० हेक्टरमा सिँचाइ गर्ने रहे पनि छ हजार ६१६ हेक्टरमा मात्र पुगिरहेको छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६६५ हेक्टर तथा सेक्टर सिँचाइले दुई ५०० हेक्टरमा मात्र सिँचाइ सुविधा पु¥याइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार