२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

संविधानले सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ:सभामुख



काठमाडौँ, २ असोज । सभामुख ओनसरी घर्तीले राजनीतिक दलबीच संविधान निर्माणका क्रममा देखिएको आपसी सहमतिको वातावरण कार्यान्वयनका लागि पनि उत्तिकै आवश्यक रहेको बताउनुभएको छ ।

पहिलो संविधान दिवसका उपलक्ष्यमा नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवन परिसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्था र राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ पनि राजनीतिक दल एकताबद्ध भएर लाग्नु आवश्यक छ ।”

संविधानको गतिशील विकास एवम् प्रभावकारी कार्यान्वयनसँगै नेपाली जनताको विकास र प्रगतिको आकाङ्क्षा पूरा हुने बताउँदै सभामुख घर्तीले संविधानको प्रभावकारी र समयबद्ध कार्यान्वयनका लागि सबैको ध्यानाकर्षण गराउनुभयो ।

Sagarmatha

उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनसँगै होमिएका राजनीतिक शक्तिले आपसमा मिलेर नै यो समस्या छिटो समाधान गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।”

संविधानसभाबाट संविधान बनाउनु आफैँमा कठिन कार्य भए पनि त्योभन्दा कठिन कार्य यसको प्रभावकारी कार्यान्वयन हो भन्दै उहाँले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन कानुन सरकारले संसद्मा पेस गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामानुपातिक समावेशीता र सामाजिक न्याय हाम्रो संविधानका मूलभूत विशेषता भएको बताउँदै उहाँले नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ, भन्नुभयो । रासस

प्रकाशित मिति : २ आश्विन २०७३, आइतबार  ५ : ३७ बजे