काठमाडौँ, ३ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधान कार्यान्वयनलाई गति दिन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
उपराष्ट्रपति पुनले संविधान दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढिरहेको भए तापनि संविधानको तीव्र कार्यान्वयनतर्फ सबै नेपालीको ध्यान केन्द्रित हुनुपर्ने र कार्यान्वयनको विषय सबैको साझा एजेन्डा बन्नुपर्नेमा जोड दिनुभएको हो ।
उपराष्ट्रपति पुनले भन्नुभएको छ, “आफ्नो संविधान आफँै जारी गर्ने नेपाली जनताको एजेन्डा पूरा हुनेगरी संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो ।”
नेपालीले सात दशक लामो समय राजनीतिक सङ्घर्षमा बिताएको र संविधानसभाबाट संविधान जारी भएसँगै राजनीतिक सङ्घर्ष मूलभूत रुपमा पूरा भएको उल्लेख गर्दै उहाँले संविधान दिवसका अवसरमा संविधानको तीव्र कार्यान्वयन तथा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको स्पष्ट पार्नुभएको छ ।

संविधान कार्यान्वयनका क्रममा देखिएका केहीँ असन्तुष्टिसमेत चाँडै सम्बोधन हुने विश्वास उपराष्ट्रपतिले लिनुभएको छ । संविधान दिवसले अहिलेको हाम्रो प्रमुख कार्यभार संविधान कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास लिनुभएको छ । रासस






