व्यापक जनगुनासोपछि कलंकी र जोरपाटी सडक फराकिलो नबनाई कालोपत्रे गरिने

7 Shares

काठमाडौं । व्यापक जनगुनासो बढेपछि सरकारले कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी–साँखु सडकलाई फराकिलो नबनाई कालोपत्रे गर्ने तयारी थालेको छ । पानी परेको बेला अत्याधिक हिलो र खाल्डाखुल्डी भएकाले सवारी आवगमनमा समस्याभएपछि सरकारप्रति व्यापक जनगुनासो बढेपछि सकडलाई अहिलेकै साईजमा कालोपत्रे गर्ने तयारी थालेको हो ।
सडक विस्तार एवं मुआब्जाका विषयमा अदालतसम्म विवाद पुगेपछि सरकार एक कदम पछाडि हटेको छ । अब विवाद नसुल्झिए पनि सडक मर्मतको काम नरोकिने भएको छ । सडक विस्तारका सन्दर्भमा सर्वोच्चले दिएको फौसलामाथि न्यायिक पुनरावलोकनमा जाने तयारी हुँदै गर्दा सरकारले विवादित घरहरुलाई छाडेर सडक विस्तारको काम सक्ने निर्णय गरेको हो ।
भर्खरै जोरपाटीको सडक अनुगमन गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले हालका लागि विवादित क्षेत्रलाई छाडेर सडक विस्तारको काम अघि बढाउने प्रस्ताव मन्त्रीपरिषदमा लगेका थिए । मन्त्रीपरिषदले मुआब्जाको विवादका कारण भत्काउन नसकिएका घरहरुलाई छलेर सडक विस्तारको काम टुंग्याउन सडक विभागलाई स्वीकृति दिएको छ । बौद्ध–जोरपाटी–साँखु र कलंकी नागढुंगा सडकमा घरजग्गाको मुआब्जामा ठूलो विवाद छ ।
सर्वोच्चको फैसलामाथि पुनरावलोकन भइसकेपछि मात्रै सडक विस्तारको काम गर्ने हो भने वर्षौं लम्बिने अवस्था आएकाले काम अगाडि बढाउँदै गर्ने निश्कर्षमा सरकार पुगेको हो । कतिपय घरटहरा बलजफ्ती हटाइए पनि अदालतको अन्तरिम आदेशका कारण सरकारले थुप्रै घरहरु भत्काउन पाएको छैन । गत असोजमा भएको सर्वोच्चको फैसलामा पुरानो आदेशलाई निरन्तरता दिँदै स्थानीयसँग सहमति कायम गरेर चित्तबुझ्दो मुआब्जा दिएर मात्रै सडक विस्तार अघि बढाउन सरकारलाई भनिएको छ ।
कलंकी नागढुंगा सडकको मुआब्जाको सम्बन्धमा सर्वोच्चले दिएको फैसला पुनरावलोकनका लागि निवेदन दिने अन्तिम तयारीमा मन्त्रालय छ । तर, सडक मर्मतलाई फेरि अर्को फैसलासम्म नकुर्ने भन्दै मन्त्रीपरिषदको बैठकमा मन्त्री महासेठले कुरा राखेका थिए ।
सरकारले खनेर अलपत्र पारेका सडककका कारण नागरिकले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । विवाद भएको बाहनामा ठेकेदारहरुले गर्न सकिने काममा ढिलाइ गरिरहेका छन् । विवादित अवस्थामा सडक विभागले पनि ठेकेदारहरुलाई दबाव दिन सकेको छैन । अब भने फटाफट सडक विस्तारको काम टुंग्याउने गरी ठेकेदारलाई सरकारले निर्देशन दिएको छ ।
अहिले वर्षायाम भएकाले ठेकेदारहरुले दशैंपछि सडक विस्तारमा तीव्रता दिने बताएका छन् । मन्त्री महासेठ आफैं सडक अनुगमनमा पुगेर खाल्डाहरु तत्काल पुर्न र आवागमन सहज गर्न निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार