आयो कुल्फी आयो भन्दै २६ वर्षपछि सोलुखुम्बु पुगे मनकुमार राई

तक्मेबुढाले पैसादिएपछि कुल्फीवाला राई नागरिकता बनाउँन सोलुखुम्बुमा

Facebook Debugger

सोलुखुम्बु । युट्युबका विभिन्न च्यानलमा अन्तरवार्ता दिएर भाईरल भएका कुल्फी बेच्ने (कुल्फीवाला) मनकुमार राई नागरिकता बनाउन २६ वर्षपछि सोलुखुम्बु आएका छन् । हंङकङबाट कविता गुरुङ र बिमला राईले कुल्फीवाला राईको युट्युब च्यानलमा अन्तरवार्ता हेरेर पठाएको आर्थिक सहयोगमा केहि रकम थपी तक्मेबुढा (विल्सनविक्रम राई) ले एकमुष्ठ ३३ हजार रुपीयाँ दिएपछि उनी सोलुखुम्बु आएका हुन् ।

कुल्फीवाला राईको मेहनत, परिश्रम र कामप्रतिको लगावलाई सम्मान गर्दै गुरुङ र राईको आर्थिक सहयोगमा तक्मेबुढाले सो रकम प्रदान गरेका हुन् । मनकुमारले गर्मीमा कुल्फी, जाडो महिनामा बदाम बोकेर बौद्ध, नयाँबस्ती, जोरपाटी, नारायणटारका चोक, गल्ली, सडकमा नाँच्दै, गाउँदै कुल्फी बेच्दै आएका छन् ।
मनकुमारको संघर्ष, दुःख र ईमान्दारीता देखेर तक्मेबुढाले समेत अाँशुलाई रोक्न सकेनन् । अहिलेसम्म राईलाई कसैले १ रुपीयाँँ पनि सहयोग गरेका छैनन् । एक्कासी ३३ हजार रुपीयाँ अार्थिक सहयोग पाउँदा उनको आँखाबाट अाँशुका धार बग्न थाल्यो । उनीसँगै तक्मे पनि रोए ।

कुल्फीवाला राईले यसो भन्दै कुल्फी बेच्दै आएका छन्, ‘लहै आयो है कुल्फी, हिउँभन्दा चिसो छ, सबैभन्दा मीठो छ, हाँसेको, नाँचेको पैसा लाग्दैन, घामले डढेको, पानीले भिजेको, खुट्टा दुःखेको, घाँटी सुकेको, बोकेको अनि गीत गाएको चाँहि अलिकति पैसा लाग्छ ? त्यही भएर १५ रुपीयाँ पर्छ, १५ रुपीयाँ प¥र्यो भनेर मन नदुःखाउनुहोस, गुनासो पनि नगर्नुहोस, दुःखी पनि नहुनुहोस, घामले डढ्दै, पानीले भिज्दै, खुट्टा दुःखाउँदै, घाँटी सुकाउँदै, बोकेर, गीत गाउँदै तपाईहरुको घर आँगनमै ल्याएको छु, खुशी भएर खानुहोस, कुल्फी नखाएपनि कुनै गुनासो छैन, मुसुक्क हाँस्न चाँही नबिर्सिनुहोस, हाँस्यो भने मुहार पनि उज्यालो हुन्छ, अनि स्वास्थ्यलाई पनि राम्रो हुन्छ, जो हाँस्छ, जो नाँच्छ ऊ अलि धेरै बाँच्छ है ।’
उनले धाराप्रवाह रुपमा बोल्ने मात्र होइन ? नाँच्दै पनि कुल्फी बेच्ने गरेका छन् । ‘आयो कुल्फी आयो, आयो कुल्फी आयो, हाँस्न पनि पाउने ? नाँच्न पनि पाउने ? बिक्रि भयो भने पैसा पनि आउने ? कुल्फी खाएर पैसा दिएन भने समाइदिन्छु जुल्फी ? आयो कुल्फी आयो, आयो कुल्फी आयो ?’

सोलुखुम्बु जिल्लाको साविकको सल्यान ४ रीदुबाट २६ वर्षअघि ५ दिनको पैदल यात्रापछि गाडि चढेर काठमाडौ पसेका थिए मनकुमार । अहिले घरसम्मनै गाडी चढेर नागरिकता बनाउन उनी सोलुखुम्बु आएका छन् । साक्षर मात्र भएका मनकुमार काठमाडौंको गल्लीगल्ली, चोकचोकमा धेरै समय भौतारिए, कामको खोजीमा । तर उनले भनेको जस्तो, सोचेको जस्तो काठमाडौं थिएन ?
अन्ततः गलैँचा बुन्ने काम पाए । शुरुमा त उनलाई धेरै गाह्रो भयो । केहि समयपछि गलैचा बुन्ने काम पनि अरुको तुलनामा धेरै छिटो र राम्रो गरी बुन्न सक्ने क्षमताको विकास गरे । एकै ठाउँमा बसेर गलैचा बुन्दा बुन्दै उनलाई विभिन्न रोगहरुले च्याप्न थाल्यो । उनलाई मुटुको रोगले समेत छोडेन । अस्पताल भर्ना भए । डाक्टरले शारीरीक व्याम कम भयो । शरीरबाट दैनिक रुपमा पसीना निस्कने काम गर्नु पर्छ भनेर सल्लाह दिए ।
उनले धेरै सोचविचार गरे । के काम गर्ने भनेर ? धेरै समयको सोचविचार पछि जाडोमा बदाम र गर्मी महिनामा कुल्फी बेच्ने निधो गरे । त्यो पनि गाउँदै र नाँच्दै । गएको मंसिर महिनाबाट बदाम बेच्न शुरु गरेका मनकुमार गर्मी महिनामा कुल्फी बेच्दा बेच्दै विभिन्न सामाजिक सञ्जाल मार्फत कुल्फीवाला उपनाममा भाईरल भए ।
जोरपाटी, नारायणटार, बौद्ध, नयाँबस्ती, गौरीघाटमा कुल्फीवाला दाई भनेर छोटो समयमै परिचित भए । अहिले राई सोलुखुम्बु आएका छन् । उनी नहुँदा सायद धेरै मानिसहरुले कुल्फीवाला दाई कहाँ गयो होला भनेर सोधिरहेका छन् ? गाउँदै, नाच्दै कुल्फी बेच्ने मनकुमारको अभावमा बौद्ध क्षेत्रका चोक, गल्ली र सडकमा हिड्ने बटुवाहरुले उनलाई खोजीरहेका छन्, र भन्दैछन्, ‘गाउँदै र नाँच्दै कुल्फी बेच्ने कता गएछ ?’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार