२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

बतासे फोट्याङ सडक निर्माणसँगै कालोपत्रे



मेलम्ची, ३ असोज । सिन्धुपाल्चोक बतासे–फोट्याङ मोटरबाटो कालोपत्रे हुने भएको छ । ग्रामीण भेग बतासेदेखि कर्थली, दुरुमथली, घोर्थली हुँदै फोट्याङको ११ किमी सडकखण्ड कालोपत्रे हुन लागेको हो ।

विसं २०७२÷७३ को केन्द्रीय योजनाअन्तर्गत रु ४२ करोड लागतमा सो सडक निर्माण गर्न रकम छुट्याइएको थियो ।

विसं २०७२ असोजबाट निर्माण सुरु भएको सडक २०७४ सालभित्र जिल्लाको सिमाना पर्ने दोलखाको दोलाङ्सासम्म १८ किमी सडक कालोपत्रे गरिसक्नुपर्ने योजनाअनुसार अहिले ११ किमी कालोपत्रे गर्न लागिएको हो ।

दोलखाको माथिल्लो भेगमा पर्ने गौरीशङ्कर संरक्षणको उत्तरी क्षेत्रको १३ गाविस हुँदै नेपाल–चीनसँगको फलाँट नाका जोड्नका लागि बतासेबाट आठ मिटर चौडा सडक निर्माण भएकोे ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्स प्रालि जेभीले जनाएको छ ।

सडक निर्माण कार्य तीव्रगतिमा अघि बढेको र बतासेदेखि फोट्याङसम्मको ११ किमी सडक कालोपत्रेका लागि अन्तिम चरणमा पुगेको निर्माणकार्यमा सम्लग्न इन्जिनियर मीनप्रसाद पौडेलले बताउनुभयो ।

विसं २०७४ असार मसान्तसम्म सडक निर्माणको समयावधि रहेको सो सडक चीनसँगको सीमा फलाँटसम्म पुग्न ६० किमी रहेको छ ।

कालोपत्रेका लागि बर्खायाममा समेत काम नरोकी सडक कटिङ, रिटनिङ, ब्याक कटिङ, स्टक्चर मेसिन प्रयोग गरी ब्रेस्टवाललगायतको काम सकिएको जनाइएको छ ।

कर्थलीका जीतबहादुर तामाङ भन्नुहुन्छ – “सडक निर्माण हुँदा यस क्षेत्रका बासिन्दा निकै खुसी भएका छन् । पहिले सडक नहुँदा कर्थली र घोर्थलीवासीलाई आवश्यक सामग्री खरिदका लगि बाह्रबिसे बजारसम्म हिँडेर जानुपर्ने समस्या सडक निर्माण भएपछि हटेको छ । ” रासस

प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार  ६ : ११ बजे