सोलु कांग्रेसको विवादित १३ औं अधिवेशनको प्रतिवेदन केन्द्रीय कार्यलयमा

  बुद्धवीर बाहिङ
938 Shares

काठमाडौं । नेपाली कांग्रेस जिल्ला समिति सोलुखुम्बुको १३ औं अधिवेशन अवैधानिक र फेसबुके भन्दै आलोचना र विरोध गर्दै आएका आङगेलु शेर्पा पक्षका नेता तथा कार्यकर्ताहरुले राहतको स्वास फेरेका छन् । ढिलै भएपनि छानविन समितिले सोलुखुम्बु कांग्रेसको अधिवेशन अवैधानिक भएको भन्दै प्रतिवेदन बुझाएपछि शेर्पा पक्षका कार्यकर्ताहरुले राहतको स्वास फेरेका हुन् ।
अवैधानिक रुपमा जिल्ला समिति फेसबुककै भरमा घोषणा गरिएको भन्दै केन्द्रीय कार्यलयमा उजुरी परेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन छानविन समिति गठन गरेका थिए । अधिवेशन सकिएको केहि समयमै छानविन समिति सोलुखुम्बु पुगेर आवश्यक छानविन गरेपनि प्रतिवेदन भने लामो समयपछि मात्र केन्द्रीय कार्यालयमा बुझाएको छ । छानविन समितिले हिजो (आइतबार) केन्द्रीय कार्यालय सानेपामा ००७ नं. मा दर्ता गरेर प्रतिवेदन बुझाएको हो ।
गोप्य पत्रको रुपमा बुझाएको प्रतिवेदनमा शेर्पा पक्षलाई न्याय गरिएको बताइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी बुझाईएको गोप्य प्रतिवेदनको बाहिरी खाममा ‘नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिमा देखिएको समस्या अध्ययन प्रतिवेदन’ लेखिएको छ । ढिलै भएपनि छानविन समितिले प्रतिवेदन बुझाएपछि आङगेलु शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा ‘अवैधानिक निकायहरुको समाप्तिका साथै नेपाली कांग्रेस सोलुखुम्बु विधान सम्मत मार्गमा जान द्धार खुलेको छ, ढिलै भएपनि न्याय उन्मुख गन्तव्यतर्फ पार्टी अघि बढेकोमा समिति एवं पार्टी नेताहरुप्रति कृतज्ञता प्रकट गर्दछौं’ भनेर प्रतिक्रिया लेखेका छन् । शेर्पाले एकता र पार्टी सुदृढीकरणमा सबैले योगदान पुर्याउन नेता तथा कार्यकर्ताहरुलाई समेत अपिल गरेका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता सूर्य कुलुङले ढिलै भएपनि बलबहादुर केसीको एकात्मक र जातीबादी व्यवहारको भण्डाफोर भएको प्रतिक्रिया दिएका छन् । ‘सोलु कांग्रेसको १३ औं अधिवेशनमा बलबहादुर केसीले प्रतिनिधीहरुको बीचमा नभई केन्द्रीय प्रतिनिधीलाई अपहरण गरी अवैधानिक रुपमा फेसबुकबाट कार्यसमितिको नाम घोषणा गरेका थिए’ नेता कुलुङले भने, ‘केसीले निर्वाचन समितिको सामुन्ने फर्जी कागज बनाएर, निर्वाचन समितिलाई बाध्य बनाई हस्ताक्षर गर्न लगाएर सयौं नेता तथा कार्यकर्ताको आँखामा छारो हाल्ने प्रयास गरेका थिए, तर उनको प्रयास आज विफल भएको छ ।’
शेर्पा पक्षका नेता तथा कार्यकताहरुले जिल्ला अधिवेशन अवैधानिक भने पनि बलबहादुर केसी पक्षीय नेता तथा कार्यकर्ताहरुले भने नेपाली कांग्रेस सोलुको १३ औं अधिवेशन विधान र नियम संगत भएको बताएका छन् । अधिवेशन भएको लामो समय बितिसेपछि एकाएक सुनियोजित रुपमा छानविन समितिको नाममा प्रतिवेदन बुझाउनु समय सान्दर्भिक नभएको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेस सोलुको १३ औं अधिवेशनको कार्यसमितिमा देखिएको समस्या प्रतिवेदन आफूलाई थाहा नभएको जिल्ला सभापति विनोद बस्नेतले बताए । ‘होइन जिल्ला कार्यसमितिमा समस्या देखिएको, अधिवेशन अवैधानिक भएको भए, मलाई पनि त सोध्नु पथ्र्यो होला नी ? म पनि त जिल्लाको सम्बन्धीत व्यक्ति हुँ ? खै मलाई त अहिलेसम्म छानविन समितिका साथीहरुले केहि पनि भनेका छैनन्’ सभापति बस्नेतले भने, ‘यदि छानविन समितिका संयोजक केशव बुढाथोकीले मलाई पनि त केहि कुरा सोध्थे होला नी ? खै अहिलेसम्म केहि भनेका छैनन् ? यसरी एकतर्फी व्यक्तिवादी, एकपक्षीय रुपमा बुझाएको प्रतिवेदन कसरी मान्य हुन्छ ।’
सभापति बस्नेतले पार्टीको केन्द्रीय समितिले विधान र नियम संगत गर्ने सबै निर्णयलाई आफूले सहर्ष स्वीकार गर्ने बताए । ‘तर प्रतिवेदनमाथी शेरबहादुर एक्लैले निर्णय लिए, हामी मान्दैनौं’ उनले भने, ‘केन्द्रको निर्णय शेरबहादुर एक्लैले गरेर हुँदैन, सबै केन्द्रीय समितिको बैठकले निर्णय गरेको जस्तोसुकै निर्णय होस म मान्न तयार छु ।’
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुमा लामो समयदेखि देउवा पक्षका शेर्पा र पौडेल पक्षमा केसीबीच अन्तर संघर्ष जारी छ । वि. सं. २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा शेर्पा पक्षले केसीलाई हराएको आरोप झेल्दै आएका शेर्पाले दोस्रो संविधान सभाको निर्वाचनमा केसीले जीतेपछि केहि राहत महशुस गरेका थिए । तर केसीले शेर्पालाई समानुपातिक कोटामा लैजाने प्रतिबद्धता गरेपनि उल्टै निर्वाचनको बेला असहयोग गरेको भन्दै केन्द्रीय समितिमा उजुरी हालेपछि शेर्पा र केसीबीच फेरी मतभेद बढेको थियो । केसी र शेर्पाको मतभेदले नेपाली कांग्रेस सोलुखुम्बुमा जनताको नजरमा नराम्रोसँग गीरेको नेपाली कांग्रेस सोलुखुम्बुका पुरान नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार