विराटनगरमा पाइपबाट घरघरमा ग्यास

Facebook Debugger

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्यास पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर १४स्थित जतुवामा श्रीकृष्ण गौ सेवा सदनद्धारा नेपालको पहिलो नमूनाका रुपमा संचालित जैविक गोवर उर्जा (बायोग्यास) पाइप लाईन परियोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै ।

अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लगिने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उल्लेख गर्दै यसलाई मुलुकभर विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले भने, “आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिण्डरको बिदाइ भएको छ । यसलाई अभियानकै रुपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो ।”
बायोग्यासबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताए । उनले गौसेवा सदनको हाताभित्र एक मेगावाटको सौर्य प्रणाली राख्न सकिने धारणा पनि राखेका थिए । “अब पनि समस्या छ भनेर बस्ने अवस्था छैन, समस्यालाई सम्पत्तिका रुपमा उपयोग गर्नुपर्छ, आवश्यकता, दृष्टिकोण र प्रतिबद्धताले नै अगाडि बढ्न सकिन्छ”, प्रधानमन्त्रीले भने । प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालले त्यसको अधिकतम उपयोगबाट दुनियाँले नपत्याउने गरी छोटो समयमै विकासमा ठूलो फड्को मार्न सकिने बताउँदै उनले बढ्दो व्यापार घाटा कम गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
सो अवसरमा प्रधामन्त्रीले उक्त बायोग्यास प्लाण्टको निरीक्षण गर्नुका साथै प्लाण्ट स्थापना गर्न सहयोग पु¥याउने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खाना पकाउने ग्यासको आयात गर्न वर्षमा ३८ अर्ब, सवारीसाधन चलाउन डिजेल–पेटो«ल रु दुई खर्ब र विद्युत् आयात १८ अर्बको गर्नुपरेको तथा यसले ११ खर्बको व्यापार घाटा बढाएको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कम गर्नका लागि ऊर्जामा आत्मनिर्भर बन्न यस्ता परियोजना निकै उपयोगी हुने बताए ।
उनले वर्तमान सरकारले आगामी ३ वर्षमा ऊर्जाको न्यूनतम आपूर्ति र ५ वर्षमा चाहेजति ऊर्जाको प्रयोग गर्न सकिने गरी आयोजना निर्माणमा जोड दिएको बताए । उनले ३० नगरपालिकामा जैविक फोहर उपयोग गरी ठूला क्षमताका बायोग्यास प्लाण्ट जडानको काम भइरहेको र ३०० मझौलाखालका प्लाण्ट जडान गर्न लागिएको जानकारी दिँदै विस्तारै मुलुक ऊर्जामा आत्मनिर्भर हुँदै जाने विश्वास व्यक्त गरे । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कावा कार्यकारी निर्देशक नवराज ढकालले ठूला क्षमताका वायोग्यास प्लाण्टबाट आयातीत इन्धन र रासायनिक मल प्रतिस्थापन गर्न सकिने उदाहरण यसखालका परियोजनाबाट पुष्टि भएको बताउँदै नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तारले समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा गर्न सकिने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर–१४स्थित जतुवामा नेपालको पहिलो नमूनाका रुपमा श्रीकृष्ण गौ सेवा सदनÃ¥ारा संचालित जैविक गोवर उर्जा (बायोग्यास) पाइप लाईन परियोजना उद्घाटन समारोहमा सहभागी हुँदै ।

गौसेवा सदनका अध्यक्ष शंकरराज अग्रवालले गौशालामा रहेका २०५ गाईको गोबरबाट ग्यास र जैविक मल उत्पादन गरी देशकै नमूना परियोजना निर्माण गर्न पाएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा यसलाई अझ विस्तार गर्न सरकार, दातृ निकाय र स्थानीय सरकारको सहयोगको अपेक्षा गरेको बताए । विश्व बैंकका राष्ट्रिय प्रबन्धक फेरिस एच हदाद जर्भाेले नेपालको ऊर्जा क्षेत्रमा विश्व बंैकले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस किसिमका बायोग्यास परियोजनाले आयातीत इन्धनको निर्भरता कम गर्न सक्ने बताए । समारोहमा मन्त्रीद्वय लालबाबु पण्डित र भानुभक्त ढकाल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं १ का मन्त्री तथा सांसद उपस्थिति थियो ।
कूल १ करोड ५० लाखको लागतमा निर्माण भएको सो प्लान्ट जडान गर्न विश्व बैंक तथा ऊर्जा प्रवद्र्धन केन्द्रबाट ७४ प्रतिशत, विराटनगर महानगरपालिकाबाट ११ प्रतिशत र गौसेवा सदनबाट १५ प्रतिशतको लगानी छ । नेपाल इनर्जी विकास कम्पनी प्रालिले निर्माण गरेको सो प्लाण्टबाट केही दिन अगाडि नै उपभोक्ताले परीक्षणका रुपमा ग्यास प्रयोग गर्न थालेका थिए । छिट्टै सो प्लान्टबाट सय घरधुरीमा पाइपलाइन विस्तार गरिने जनाइएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार