इटालीको भूकम्पमा मृत्युहुनेको सङ्ख्या २९१ पुग्यो

0 Shares

रोम, १२ भदौ । इटालीमा गएको बुधबार बिहान गएको ६.२ रिक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको व्यक्तिको सङ्ख्या २९१ पुगेको छ । इटालीको नागरिक प्रतिरक्षा विभागले शनिबार साँझ सो जानकारी दिएको छ ।

उक्त भूकम्प प्रभावित क्षेत्रमा उद्वारको कार्य जारी रहेको र भूकम्पका कारण भग्नावशेषमा पुरिएका नागरिकलाई जीवितै उद्वारको प्रयास भने जारी नै छ ।

तर पनि यसरी भग्नावशेषबाट नागरिकलाई जीवितै उद्वारको काम भने असम्भव भएको बताइएको छ । भूकम्पले अति प्रभावित सहर अमात्रिसमा मात्र २३० व्यक्तिको मृत्यु भएको छ भने आक्युमोली ११ र अक्र्युटो डेल ट्रोन्टोमा ५० को मृत्यु भएको छ ।

सो भूकम्पमा परेर ज्यान गुमाउने ३५ व्यक्तिको शनिबार भएको सामुहिक अत्येष्टिमा इटालीका राष्ट्रपति सर्गियो म्याटरेला प्रधानमन्त्री म्याटेओ रेन्जीका उपस्थिति रहेको थियो ।

इटालीमा अगस्त २७ का दिनमा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा राष्ट्रिय शोक घोषणा गरिएकोले सो दिन देशभरी राष्ट्रिय झण्डा आधा झुकाइएको थियो ।

उद्वाकार्य जारी रहेको छ, उद्वारकर्मीहरूका अनुसार अझै पनि केही व्यक्ति पुरिएर रहेका छन् । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए तापनि अझै क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

गत बुधबार गएको शक्तिशाली भूकम्पपश्चात् लगातार पराकम्पन गइरहेको छ । सो भूकम्पपछि आएको सबभन्दा शक्तिशाली पराकम्पन ४.८ रिक्टर स्केलको मापन गरिएको थियो । सो भूकम्पपछि एक हजार ३०० भन्दाबढी पराकम्पनगएको बताइएको छ ।

सो भूकम्पमा परी ३०० भन्दाबढी व्यक्ति घाइते भएका छन् । क्षतिको पूर्ण विवरण अझै आउन नसकेको ती अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार