सोलुखुम्बु । हिमाल एफ.एम. का प्रमुख भानुभक्त निरौलाले हावाहुरीले ढलेको टावरमा स्थानीयबासिन्दालाई फसाएर मोटो रकम असुल्न खोजेको समाचार प्रकाशन भएपछि त्यसको बचाउ गर्दै एफ.एम.को तर्फबाट एक विज्ञप्ती प्रकाशन गरिएको छ । विहीबार एफ.एम.को तर्फबाट जारी गरेको विज्ञप्तीले समाचारमा आएको विषयको प्रतिवाद गर्दै थप प्रश्न समेत जन्माएको छ । विज्ञप्तीमा आफूले स्थानीयबाट पैसा असुल्न खोजिएकै हो भन्ने मौन स्वीकृति समेत दर्शाएको छ । हावाहुरीले ढलेको टावरमा स्थानीयबासिन्दालाई जबरजस्ती फसाएर २ लाख ४० हजार रुपैयाँ असुल्न खोजेपछि सगरमाथा अनलाइनले सत्यता के हो ? भनेर खोजी गरेको थियो । केही दिनको खोजतलास पछि हामीले ‘फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार असुल्न खोजेको वास्तविकता यस्तो रहेछ’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेका थियौं ।
पहिलो प्रश्न : हावा हुरीले ढाल्दा पनि क्षति नपुगेको चीज बालबालिकाले कसरी भाँच्न सक्यो ?
एउटा सामान्य मानिसले पनि सोच्न सकिने कुरा के हो भने हावाहुरीले फलामको टावर ढाल्दा त्यसको टुप्पोमा रहेको एण्टेनामा क्षति पुग्छ कि पुग्दैन ? १२० फिटको टावर भुँइमा मज्जाले बजार्दा त्यसको टुप्पो नजिक जडित एण्टेनाको हालत कस्तो हुन्छ ? अब एकछिन सोचौं, मानौं उक्त एण्टेना त्यत्ति बलियो रहेछ, भाँचिएन छ रे । अब फेरि सोचौं, भुँइमा बजार्दा पनि नभाँचिने एण्टेना केटाकेटीले कसरी भाँच्न सफल भएछन् ? यो अत्यन्तै हाँस्यास्पद र लाजमर्दो विषय हो । कि क्षति पुयाईदिने नियतले नै ह्याम्बर, गैंदी वा फलामे हतियार बोकेर नै तोडफोड गर्नुपर्यो । होइन भने केटाकेटीले भाँच्न सक्छन् ? सायद स्थानीयलाई रेडियोको प्राविधिक विषय थाहा हुँदैन र फसाउन सकिन्छ भन्ने नियत यसमा प्रष्टै झल्किन्छ ।
दोस्रो प्रश्न : सुरक्षा गार्ड के का लागि ?
विज्ञप्तीमा टावरमा रहेको सुरक्षा गार्डको आँखा छलेर महत्वपूर्ण सामानहरु टुटफुट गराई घर लानु सामाजिक क्रियाकलाप हो ? भनिएको छ । सामानको सुरक्षा गर्न बसेको चौकीदारको काम के हो ? अघिल्लो दिन ढलेको टावरको सामान यथावस्थामा राखेर मुचुल्का उठाउनुपर्ने र तिनको विवरण बीमा कम्पनी लगायत निकायमा बुझाउनुपर्ने थियो होला ? जसलाई परिवर्तन गर्न नदिने र सामानको सुरक्षा गर्ने जिम्मेवारी सुरक्षा गार्डको होइनर ?

तेस्रो प्रश्न : केटाकेटीले अन्जानबस टिपेर लगेको विषयलाई चोरीको आरोप
अभिभावकहरुका अनुसार उक्त सामग्री (फलामको ढुंग्रो जस्तो देखिने) बालबालिकाले टिपेर ल्याएको र केही समयपछि थाहा पाएर फिर्ता गरेको भनिएको छ । तर विज्ञप्तीमा भने सबैअभिभावकलाई नै (जो त्यस दिन पत्ताले भ्रमणमा गएका थिए) चोरीको आरोप लगाईएको छ । त्यहाँ बालबालिकाको कुरा उल्लेख गरिएकै छैन । अन्जानबस बालबालिकाले टिपेर लैजानु र आफ्नो प्रयोजन सिद्ध गर्न चोरी गर्नु फरक विषय हो । चोरीको गम्भीर आरोप लगाएको विषयमा स्थानीयबासिन्दा न्यायलयमा जाने बाटो खुलेको छ ।
चौथो प्रश्न : स्थानीयलाई फसाएर मोटो रकम असुल्न खोजेको विषय मिडियामा आउँदा राजनीतिकरण भयो ?
भानुभक्त निरौलाले बिमल मगरलाई धम्काएर, तर्साएर, फसाएर जसरी भएपनि रकम लिन खोजेको र आफू के गरौं कसो गरौं भन्ने अवस्थामा पुगेपछि पीडितको आवाज मिडियासम्म आईपुगेको हो । अनि भानुभक्त निरौला र उनको रेडियोले गरेको ज्यादती सहिरहनु पर्यो । अनि आफू माथि भएको अन्यायका लागि आवाज उठाउँदा राजनीतिकरण हुने ? घटनालाई राजनीतिकरण गर्न खोजियो भन्ने आधार के हो ?
पाँचौ प्रश्न : उक्त घटनामा संलग्नहरु भनेको को ?
समाचारमा विमल मगर यस घटनामा मुख्य पीडित भएको र पीडितलाई प्रति एण्टेनाको ६० हजारका दरले ४ वटा एण्टेनाको २ लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने भन्दै पटक पटक मानसिक यातना दिएको विषय जगजाहेर थियो । तर पनि किन विमलका बारेमा विज्ञप्तीमा केही उल्लेख गरिएन ? संलग्नहरु भनेको को हो ? बिमलको घरमा निरौला र शिखर श्रेष्ठ (गजकोटे) गएर अरु अभिभावकबाट संकलन गरेर दिएपनि हुने तर पैसा चाहिने भन्ने विषयको जवाफ खै ? विज्ञप्ती नै जारी गरेपछि समाचारमा आएको विषयको चित्तबुझ्दो जवाफ दिनुपर्दैन ?
छैंटौं प्रश्न : न्यायलय जाने आँट किन गरेनन् ?
वैशाख ५ गतेको विषय हो । घटना भएको एक महिना ४ दिन वितिसकेको छ । उनले बारम्बार पैसा नदिए पुलिस केस लाउँछु, सार्वजनिक मुद्दा हाल्छु लगायतको धम्की दिएका थिए । मुद्दामामिलाका विषयमा खासै जानकारी नराख्ने स्थानीयलाई अदालत जान्छु भने पछि डरले पनि पैसा निकाल्छन् कि भनेर उनले यो अस्त्र प्रयोग गरेको प्रष्टै देखिन्छ । उनले विज्ञप्तीमा अदालत जाने कुनै कुरा गरेका छैनन् । बरु भनेका छन् ‘यो घटनाको छानबिन र क्षतिपूर्तिको सहजीकरणका लागि प्रहरी प्रशासनलाई आग्रह समेत गर्दछौं ।’
स्थानीयलाई फसाएर रकम लिन खोजेको मौन स्वीकारोक्ति
विज्ञप्तीमा एफ.एम.को तर्फबाट ठूलो क्षति भएको र ठूलो क्षतिमा माफी दिन नसकिने र क्षतिपूर्ति तिर्न भनिएको भन्दै स्थानीलाई फसाउन खोजिएकै हो भन्ने मौन स्वीकृति दर्साएको छ । हो उनले विमलको गोजीबाट नभए पनि पैसा भए पुग्ने बताएका थिए ।