२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

राष्ट्रपति कृष्ण मन्दिरमा


१७ भाद्र २०७५, आइतबार  

70
Shares

काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ ।

 

फोटो ः लोक चन्द« थापा,

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छिन्।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरे । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षति पुगेकामा हालै मर्मतसम्भार गरिएको हो ।

मन्दिरको जीर्णोद्धार रु ५७ लाखको लागतमा काठमाडौँ उपत्यका संरक्षण कोषले गरेको हो । किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको पुजारी विष्णुधर राजोपाध्यायले जानकारी दिए ।

मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । अपराह्न २ बजेसम्म दुई लाख ५० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजा एवं दर्शन गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  १२ : २३ बजे