फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

77 Shares

सिंगापुर । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ । नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ ।

फाईल तस्वीर ।

यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए । करिब एक लाख ७० हजार वर्गफिटमा फैलिने ११ तले यो अत्याधुनिक सेन्टरको तापमान जहिल्यै २५ डिग्री सेल्सीयसको हाराहारीमा रहनेछ ।
फरलङका अनुसार एसियामै पहिलो पटक फेसबुकले यो स्तरको पूर्वाधार निर्माण गरेको हो । विश्वभर छरिएर रहेका फेसबुकका डाटा सेन्टरमध्ये यो पन्ध्रौं हो । यसै वर्षको जुनको अन्त्यसम्ममा विश्वभर मासिक २ अर्ब २३ करोड सक्रिय प्रयोगकर्ता रहेको फेसबुकले बलियो पूर्वाधारका कारण सिंगापुरमा डाटा सेन्टर स्थापना गर्न लागेको फरलङले जानकारी दिए ।
गूगलले पनि यहाँ दुईवटा डाटा सेन्टर निर्माण गरेको छ । यसै महिना गूगलले तेस्रो डाटा सेन्टर करिब ८५ करोड अमेरिकी डलरमा निर्माण गर्न लागेको घोषणा गरेको छ । एसियामा निकै लोकप्रिय भएपनि फेसबुकमाथि म्यान्मारमा रोहिङ्ग्या मुस्लिम समुदायमाथि घृणा र द्वेष फैल्याउन तथा सत्तारुढ पक्षलाई मद्दत गर्न भूमिका खेलेको आरोप लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार