२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

‘मास हिस्टेरिया’ प्रभावित छात्रालाई परामर्श


६ आश्विन २०७३, बिहिबार  

0
Shares

खोटाङ, ६ असोज । जिल्लाको उत्तरी गाविस हौंचुरस्थित शारदा माविका ‘मास हिस्टेरिया’ प्रभावित छात्रा र अभिभावकलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

मास हिस्टेरियाका कारण विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएपछि राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले हौंचुर पुगेर प्रभावित छात्रा तथा उनीहरूका अभिभावकलाई मनोसामाजिक परामर्श प्रदान गरेको हो ।

गत असार दोस्रो सातादेखि छात्रामा देखिएको मास हिस्टेरिया नियन्त्रण हुनुको सट्टा बढ्दै गएपछि आयोगको अगुवाइमा स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति लगायतको टोलीले गाउँ–गाउँ डुलेर प्रभावित परिवारलाई भेट गरी परामर्शका काम गरेको छ ।

Sagarmatha

मनोसामाजिक परामर्श प्रदान गरेर प्रभावित छात्रा र अभिभावकको मनोबल बलियो बनाउँदै मास हिस्टेरिया न्यूनीकरणका लागि कार्यालयका प्रमुख दीपक घिमिरे र लोकनाथ घिमिरे हौंचुर पुग्नुभएको थियो । प्रभावित छात्रा र उनीहरूका अभिभावकलाई अलग–अलग राखेर छलफल तथा परामर्श प्रदान गरिएको आयोगले जनाएको छ । प्रभावित छात्रालाई परामर्शबाहेक विद्यालयमा ल्याएर मनोरञ्जनपूर्ण खेल खेलाउनुका साथै कक्षा लिइएको जनाइएको छ ।

कक्षा ६ माथिका छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । छात्रामा मात्र देखिएको समस्या नियन्त्रण नभएपछि गत आइतबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक रामकुमार बरुवालले बताए ।

सुरुमा कक्षा १० मा अध्ययनरत दुई छात्रामा देखिएको समस्याले दैनिकजसो २२÷२३ जना छात्रा बिरामी पर्न थालेपछि अभिभावककै आग्रहमा विद्यालय बन्द गरिएको जनाइएको छ । यसअघि २०६०÷०६१ मा पनि सो विद्यालयका छात्रामै देखिएको मास हिस्टेरिया महिनादिनपछि आफैँ नियन्त्रण भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७३, बिहिबार  ९ : ५७ बजे