राहत नपाएको बाढीपीडितको गुनासो

7 Shares

मोरङ, १० असोज । मोरङको इटहरा–३ मा बक्राहा खोलाको बाँध फुटाएर गाउँ पसेपछि विस्थापित बनेकाले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् ।

गत असोज ५ गते बाँध फुटाएर बक्राहा खोला गाउँ पसेपछि इटहरा–३ को जयनगर बस्तीका ३० घरपरिवार विस्थापित भएका थिए । उनीहरु हाल खोलाको बाँध र आफन्तको शरणमा पुगेका छन् । विस्थापित भएको पाँच दिन भइसक्दा पनि हालसम्म कसैले पनि राहत दिन आएका छैनन्, इटहरा–३ का मेन्टु हेमरन भन्नुभयो– झरी पर्दा ओत लाग्ने पालसम्म पाए राहत महसुस हुने थियो । आइतबार पनि सोही ठाउँबाट खोला पुनःबस्तीमा पसेपछि उनीहरु अझै पनि ढुक्क भएर घर फर्कने अवस्था छैन । अझै पनि वर्षा भइरहेका कारण ढुक्क भएर घर फर्कन नसकेको इटहरा–३ की चन्द्रकला रिजालले बताउनुभयो । उहाँले भन्नुभयो– “वर्षा भइरहेको छ, खोला फेरि कतिखेर गाउँ पस्ने हो डरले घर फर्कन सक्ने अवस्था छैन ।” बाढीले इटहरा–३ मा पाँच घर समेत बगाएको छ । श्यामलाल बेश्रा, दानबहादुर धिमाल, वीरबहादुर राई, मेन्टु हेमरन र किशन हस्दाको घर बाढीले बगाएको हो । खोलाले फुटाएको बाँधको तटबन्ध गर्ने कामको सुरुवात समेत नभएकाले यस वर्षको दसँै खोलाको बाँधमा बित्न लागेको भन्दै इटहरा–३ का सगमलाल राजवंशीले चिन्ता व्यक्त गर्नुभयो । बक्राहा खोला गाउँमा पस्दा इटहराको वडा नम्बर ३, ४ र ५ डुबानमा पर्ने गरेको छ ।

यसअघि गत बुधबार खोला गाउँमा पस्दा ती वडाका ३०० बढी घर डुबानमा परेका थिए भने सयौँ बिगाहा धानबाली नष्ट भएको थियो । पूर्वमा अहिले पनि वर्षा भइरहेका कारण पनि स्थानीयवासी बाढीको त्रासमा रहेका छन् । वर्षा भइरहेका कारण खोलामा तटबन्ध गर्न नसकिएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले बताउनु भयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार