३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

के नेविसंघ मृत्यु शैय्यामा पुगेकै हो ?




देश पञ्चायति व्यवस्थाले आक्रान्त थियो । परिस्थिति प्रतिकुल थियो त्यस्तो अवस्थामा प्रजातन्त्रको भु्रणको रुपमा नेविसंघको जन्म २०२७ साल वैशाख ६ गते भयो । प्रतिकुल परिस्थितिमा नेतृत्वदायी भुमिका निर्वाह गरेकाले जनतामाझ नेविसंघ अब्बल संगठनका रुपमा स्थापित भयो । राजनीतिक दल प्रतिबन्धित जस्तै अवस्थामा नेविसंघले राजनीतिक अधिकारका साथै विद्यार्थीका साझा मुद्धालाई लिएर देशव्यापि आन्दोलनको सूत्रपात ग¥यो । २०२९, २०३२, २०३६, २०४६ र २०६२/०६३ साल सम्मका सबै प्रजातान्त्रिक आन्दोलनमा नेविसंघले नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । स्थापना देखि विद्यार्थीको प्रीय संगठन; जनताको दुखमा साथ दिने संगठन; जनताको पक्षमा बोल्न आफ्नै पार्टी नेतृत्वको सरकारका विरुद्धमा आन्दोलनको घोषणा गर्ने आट गरेको संगठन; आज किन कमजोर बन्यो ?
कांग्रेसले नेविसंघलाई पुनःर्जीवन दिन्छ कि भन्ने झिनो आशा थियो । विडम्बना त्यसो भएन । फेरी एकपटक नेविसंघलाई चौतारीको मादल बनाईयो । गत भदौमा कार्यकाल पुरा गरेको वर्तमान कार्यसमितिको दोस्रो पटक दुई महिना म्याद थप गर्ने निर्णय असन्तुष्टिका बाबजुद नेपाली कांग्रेसको गरिसकेको छ । दुई महिना भित्र अधिवेशन गराउने कुनै राजनीतिक एवं व्यवहारीक सम्भावना देखिदैन तर किन म्याद थपिदै छ ? म्याद थपेसँगै केहिथान नेविसंघका नेताहरु आशनग्रहण गर्ने पद जोगिएकोमा खुसी नै होलान्, त्यसलाई पनि स्वभाविकै मानौं । नेविसंघको वर्तमान कार्यसमितिले आफ्नो दुई वर्षे कार्यकाल पुरा गर्दैगर्दा शैक्षिक एजेण्डा शून्य प्रायः छ । पार्टी भित्रको गुटगत राजनीतिको छायाँ नेविसंघमा राम्रोसँग परेकाले संगठन लगभग निस्प्राण जस्तै भएको छ ।
नेविसंघले जहाँ विद्यालय त्यहाँ नेविसंघ; एक विद्यालय एक पुस्तकालय जस्ता रचनात्मक योजनाहरुलाई देशव्यापि अभियानको रुपमा लान सकेन । विद्यार्थी नेताहरु आफ्नो कर्ममा भन्दा नेताको चाकडीमा रमाउन थालेपछि साच्चै नेविसंघ नेविसंघ जस्तो रहेन । विद्यालय, क्याम्पस र विश्वविद्यालयमा केन्द्रीय नेताका खल्ती खल्तीमा अध्यक्ष बोकेर हिड्ने अभियान चल्यो । संगठनलाई कागजि रुपमा सीमित पारियो । कागजी संगठनले गतिविधि शुन्य भयो । नेविसंघमा नयाँ विद्यार्थीको आकर्षण घट्न थालो । आकर्षणका कार्यक्रम संगठनले बनाउन सकेन । नेविसंघको आकार साँघुरिदै गयो । नेविसंघ साँघुरिनु प्रकारान्तरले कांग्रेस खुम्चनु पनि हो । खुम्चिएको कांग्रेसले लोकतन्त्रको साख बचाउन सक्दैन । कांग्रेसको बिऊ नेविसंघ हो भनिन्छ । आजको पार्टी नेतृत्व बिऊ भुटेर बाली लगाउन खोज्दैछ । भुटेको बिऊबाट कस्तो उत्पादन खोजेको हो कांग्रेसले ?
इतिहासमा नेविसंले ठूला ठूला अबसर प्राप्त ग¥यो । त्यो अवसरको कुशलतापुर्वक नेतृत्व सम्हालेका नेताहरु आज कांग्रेसको नेतृत्व तहमा हुनुहुन्छ । उहाँहरुलाई राम्रोसँग थाहा छ कांग्रेसमा नेविसंघको महत्व । आफू अनुकुलको नेतृत्व आउने छाँट नदेखिएसम्म अधिवेशन नगराउने प्रपञ्च पहिलेदेखिनै पटक पटक चल्दै आएको हो । त्यसैको निरन्तरता आजपनि कायम राखेर कांग्रेसले आफ्नो आन्तरिक लोकतन्त्रको चरीत्रलाई उदाङ्गो पारेको छ । समयमा आफ्ना भात्री एवं शुभेच्छुक संगठनको अधिवेशन गराउन नसक्ने नेतृत्वबाट देश र जनताले के अपेक्षा गर्ने ? लोकतन्त्रवादीहरुका लागि अहिले प्रतिकुल अवस्था छ । दुई ठुला कम्यूनिष्ट पार्टीको एकताबाट मजबुद बनेको वर्तमान सरकारले जनपक्षीय काम गर्न सकिरहेको छैन । जनगुनासो सर्वत्र छ । प्रमुख प्रतिपक्षी कांग्रेस संसदमा अंकगणितीय रुपमा कमजोर अवस्थामा छ । जनचाहाना अनुसार संसदमा प्रभावकारी भुमिका निर्वाह गर्न सकिरहेको छैन । कांगे्रस आफैभित्र अल्मलिएको छ । यस्तो अवस्थामा सडकको प्रतिपक्ष नेविसंघलाई जागरुक बनाउनु पर्ने, ऊर्जाशिल बनाउनुपर्ने समयमा आम विद्यार्थीलाई निरास पार्दै पटक पटक म्याद थप्ने परम्पराले इतिहासमै नेविसंघ कमजोर भएको छ । विद्यार्थीको नेता विद्यार्थीले छान्न पाउने अधिकारबाट विद्यार्थीलाई वञ्चित गराई राख्ने हो भने अन्ततः नेविसंघ विघटन नहोला भन्न सकिदैन ।
कलम र मसालले प्रतिकात्मक रुपमा चेतना र विद्रोहको प्रतिनिधित्व गर्दछ । कलमको टुटी भाँचेर र मसालको ज्वाला निभाएर विद्यार्थीका वर्गीय मुद्धाको नेतृत्व गर्न सकिदैन । इतिहासको ब्याजले न कांग्रेस चल्छ न त नेविसंघ नै । आजको चेतनशिल पुस्ताले इतिहासलाई भन्दा भविष्यको योजनालाई महत्वका साथ हेर्ने गर्दछ । दर्विलो कांग्रेस बनाउन विद्यार्थी राजनीतिमा पार्टीको लगाम हटाइनु पर्छ । संविधानले वर्जित गरेको काम गरी जेल परेको साथीलाई छुटाउन बन्द हड्तामा उत्रनु पर्ने ! अनि सरकार झुक्न बाध्य भयो भनेर गर्व गर्नुपर्ने इतिहास देखि आजसम्म आइपुग्दा नेविसंघ कति खुम्चिएको छ ? नेविसंघको केन्द्रीय समितिले वार्षिक कार्यतालिका बनाएर देशव्यापि प्रशिक्षण अभियान चलाउन जरुरी छ । विद्यालय देखि विश्वविद्यालय सम्म प्रशिक्षण गर्ने आवश्यक छ । प्रशिक्षित कार्यकर्ताले मात्र संगठनको साखलाई बचाउन सक्छ र वैचारिक रुपमा विपक्षीसँग वहस गर्न सक्छ । यता तर्फ सबैको ध्यान जान आवश्य छ । (लेखक  : नेविसंघ सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिका अध्यक्ष हुन्)

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार  ३ : ०२ बजे