३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

पकिस्तानमा चिनियाँ वाणिज्य दूतावासमा आक्रमण, २ प्रहरीको मृत्यु



पाकिस्तान । पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ वाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती २ प्रहरीको मृत्यु भएको छ । पाकिस्तानी सरकारी अधिकारीहरुले सो जानकारी दिएको कराँचीबाट प्राप्त समाचारमा जनाइएको छ । चार जना बन्दु्कधारीले दूतावासमा प्रवेश गर्ने कोशिस गरेका र उनीहरुलाई भित्र प्रवेश गर्नबाट दूतावासको सुरक्षामा रहेका सुरक्षाकर्मीले रोक लगाएका थिए । त्यस क्रममा ती बन्दुकधारीले सुरक्षाकर्मीमाथि नै हमला गरेका थिए । कराँचीका एकजना स्थानीय प्रहरी अधिकारी जाभेद अलाम ओधोले एएफपी समाचार समितिलाई सो जानकारी दिएका समाचारमा जनाइएको छ ।

सुरक्षा अधिकारीले रोक लगाएपछि बन्दुकधारीले प्रहार गरेको गोलीबाट दुई प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य गम्भीर घाइते भएका जाभेदले बताएका छन् । आक्रमणपछि ती बन्दुकधारीहरु भागेका र हाल सुरक्षा अधिकारीहरुले सो इलाकालाई घेरा हालेर खोजी गरिरहेको बताइएको छ । पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा बढी प्रभाव रहेको भनिएका पृथकतावादी आतङ्ककारी समूहले सो आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । कराँची चिनियाँ लगानी परियोजनाको प्रमुख केन्द्रको रुपमा रहेको छ ।
बलुचिस्तान लिबेरेसन आर्मि (बीएलए) का प्रवक्ताले एएफपीलाई अज्ञात स्थलबाट जानकारी दिएका छन् । उनले भनेका छन्, ‘कराँचीको हमला हामीले नै गराएका हौँ अगामी दिनमा पनि यस प्रकारको आक्रमण जारी नै राख्ने छौँ ।’ पाकिस्तानको ठूलो तर निम्न आय भएका नागरिकको बाहुल्यता रहेको बलुचिस्तानमा बीएलएले विगतका दिनदेखि आतङ्क मच्चाउँदै आएको छ ।
यस दूतावासमा २१ जना चिनियाँ कर्मचारी कार्यरत रहेका छन् । अरु सबै भने सुरक्षित रहेका बताइएको छ । चिनियाँ लगानी शुरु भएयता नै चिनियाँ कामदार निमार्णाधीन इलाकामा आतङ्ककारीहरुले बारम्बार आक्रमण गर्दै आएका छन् ।
घटनाप्रति चीनको निन्दा
यसैबीच चिनियाँ वाणिज्य दूतावासमा भएको आक्रमणको चीनले निन्दा गरेको छ । कराँचीको चिनियाँ वाणिज्य दूतावासमा भएको हमला र चिनियाँ नागरिकको हत्याको चीन सरकारले कडा शब्दमा निन्दा गरेको छ । चीन सरकारले उक्त हत्याकाण्डको निन्दा गरेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  ९ : ५८ बजे