२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

‘हाम्रा शेर्पाहरु हिउँका माझी हुन्,’ : वैरागी काईला

‘शेर्पाबिना हिमाल चढ्ने कुरा कल्पना पनि गर्न सकिदैन’ कथाकार राई



काठमाडौं । वरिष्ठ साहित्यकार तिलबिक्रम नेम्बाङ ‘वैरागी काईला’ले हिमाल चढाउने शेर्पाहरु हिउँका माझी भएको बताएका छन् । कथाकार वियस राईद्धारा लिखित ‘हिउँमाझी’ कथाकृति विमोचन कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै काईलाले नदिमा माझीले तार्छ भने हिमालमा शेर्पाले तार्ने बताएका हुन् ।

‘पग्लेको हिउँ नदीहरु हो, सागर हो, जमेको सागर, नदीहरु चाँहि हिमाल हो,’ काईलाले भने, ‘नदिमा नाउँकामा माझीले तार्छ, हिउँमा पनि गाइडहरुले आरोहीहरुलाई पु¥याउँछ र झार्छ, एक प्रकारले त्यो बहनाले खियाउँदै लगेको जस्तै हो, यो हाम्रा ट्रेकर्सहरु, शेर्पाहरु हिउँका माझी हुन् ।’
साहित्यकार तथा लेखक कृष्ण धराबासीले ३०/४० वर्षको साहित्यिक यात्रामा धेरै कथाकृतिहरुमा टिप्पणी गरेपनि ‘हिउँमाझी’ कथाकृतिमा प्रयोग भएको भाषा र शैली लोभलाग्दो भएको बताए । ‘मातृभाषा नहुनेहरुलाई भाषाको के समस्या छ त भन्ने कुराहरु यो कथाले बोलेको छ,’ धराबासीले भने, ‘जनजाति आदिवासीहरु जसलाई आफ्नो मातृभाषाभन्दा पनि बढ्ता यो सरकारी भाषा नेपाली भाषामा संवाद गर्न बाध्यता छ, लेख्न, अभिव्यक्ति गर्न बाध्यता छ ।’

साहित्यकार, लेखक उज्जवल प्रसाईले ‘हिउँमाझी’ कथाकृति पढ्दा उपेन्द्र सुब्बाको झल्को आएको बताएका छन् । ‘हिमाली क्षेत्रको स्थानीयको रहनसहन, लवाईखुवाई र लवजलाई शसक्त ढंगले उठाईएको छ,’ प्रसाईले भने, ‘जति शसक्त यो ग्रामिण चेतना सहित आफ्नै समुदायको बारेमा त्यहाँको पात्र, त्यहाँको दुःख, सुखहरुको बारेमा लेख्दा जति शसक्त देखिन्छन् लेखक, शहर पसेपछि पनि त्यो गाउँको लेन्स छुटेको छैन ।’

साहित्यकार बन्दना ढकालले ‘हिउँमाझी’ कथाकृतिले आरोही शेर्पाहरुको कथा मात्र बोलेको छैन, सगरमाथामा वर्षेणी थुप्रिदै गएको फोहोरलाई पनि व्यङ्ग्य गरेको बताए । ‘त्यहाँ भएका फोहोरहरुले, त्यहाँ भएका दुर्गन्धले, सगरमाथा चढ्ने आरोहीको चापले, हिमालमा हिउँ पग्लिदैछ, प्रदुषित हुँदैछ,’ ढकालले भने, ‘त्यो सामान्य विषय होइन, जसरी पूजीँबादले संसारलाई खाइरहेको छ, जलवायु परिवर्तनको लागि मुख्य भूमिका खेलिरहेको छ, पूजीँबादले जसरी शासन गरिरहेको छ, तेस्रो मुलुकमा, त्यो तेस्रो मुलुकले गरेको असर नेपालले भोग्नु परेको पीडाको प्रतिबिम्ब हो, हिउँमाझी ।’

‘हिउँमाझी’ कथाकृतिका लेखक वियस राईले विश्वभरका पर्यटकहरु नेपालमा सगरमाथा मात्र हेर्न आएको बताएका छन् । नेपालीहरुले संसारमा गर्व गर्न लायक एउटै नाम विश्वको सर्वोच्च शिखर सगरमाथा मात्र भएको बताएका हुन् । ‘नेपालको एक्लो गौरब सगरमाथा भएकाले यसलाई लुकाउनु हुँदैन, सगरमाथामा पनि समाज छ’ लेखक राईले भने, ‘सगरमाथामा विभिन्न देशका आरोहीहरु चढेका छन्, सर एडमण्ड हिलारी र तेञ्जिङनोर्गे शेर्पाले आरोहण गरे, त्यसपछि सयौं विदेशी आरोहीहरुले सगरमाथा आरोहण गरेर कीर्तिमानी बनाएका छन्, तर त्यो कीर्तिमानी उनीहरु आफैले आएर बनाएका कदापी होइन, त्यहाँ त हाम्रा नेपालका शेर्पाहरु छन्, जसले आरोहीलाई ८८४८ मिटर संसारको सर्वाेच्च अग्लो टुप्पोमा पु¥याएर पुनः आधारशिविरसम्म सुरक्षित झार्छन्, त्यो शेर्पाको कथा जति हामीले लेख्यौं, त्यो न्यून संख्यामा छ, त्यसैले त्यसलाई लेख्नुपर्छ भन्ने सन्दर्भमा मैले हिउँमाझी लेखेको हुँ ।’

कथाकृति ‘हिउँमाझी’ लोकार्पण
कथाकार वियस राईद्धारा लिखित कथाकृति ‘हिउँमाझी’ एक कार्यक्रमबीच लोकापर्ण गरिएको छ । वरिष्ठ साहित्यकार वैरागी काईला, कृष्ण धराबासी, उज्जवल प्रसाई र बन्दन ढकालले संयुक्त रुपमा कथाकृति ‘हिउँमाझी’को लोकापर्ण गरेका हुन् ।


‘हिउँमाझी’ कथाकृतिमा १३ वटा कथा संग्रहित छन् । नाम्लो, टुङ्ना, चन्दा, जिम्मा, हिजोको कुरा, माफ, हिउँमाझी, नाकाबन्दी, चम्पाको नाम, बसन्त भर्सेज बस्टिन, बयान, सरुवा र जोखना शीर्षकका कथाहरु संग्रहित छन् । कथा २१४ पृष्ठ लामो छ । कथाकृतिलाई फिनिक्स बुक्सले प्रकाशित गरेको हो । कथाकृतिको मूल्य ३५० रुपीयाँ राखिएको छ ।
कथाकार वियस राई नेपाल प्रहरीका बहालवाला प्रहरी नायब निरीक्षक हुन् । राईको थुप्रै साहित्यिक खुराकहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । पुस्तकको रुपमा भने ‘हिउँमाझी’ पहिलो कथाकृति हो । उनको स्थायी ठेगाना नेचासल्यान २, सोलुखुम्बु हो । उनी किराति समुदाय अन्तर्गत बाहिङ/बायुङ राई हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार  ४ : ३१ बजे