हिमाल एफ.एम.प्रकरण : ‘उनी हात मिलाउन आए, मैले छाती समाते’

105 Shares

sharethis sharing button

पी.टी. लोप्चन । हिमाल एफ.एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौलाले हात मिलाउन आए, मैले च्याप्प छाती समातें । तपाईलाई लाग्न सक्ला ? ‘यो त फूल अर्पण गर्न गएको मान्छेलाई उल्टै हुत्याईदिए जस्तो, मायाले अँगालो हाल्न गएको व्यक्तिलाई मुक्का प्रहार गरे जस्तो भएन र ?’ यो हुनै सक्दैन । तर हुँदोरहेछ । ‘फूलको जवाफ पत्थरले दिनेलाई …….’ भनेर त्यत्तिकै गीत बनेको होइन रहेछ ।

यो ग्यास चूलोमा बसाईएको तावाबाट निकाल्दै गरेको तात्तातो रोटी जस्तो हालैको घटना होइन । कुरा ठिक ८ वर्ष अगाडिको हो । रेडियोको आडमा हिमाल एफ.एम. का प्रमुख भानुभक्त निरौलाले मच्चाईरहेको श्रृंखलाबद्ध घटनाले वितिसकेको एउटा पुरानो घटनालाई फेरि ताजा बनाईदिएकाले मात्र अतितको एउटा पाना पल्टाएर यहाँहरु सामु दर्शाउने जमर्को गरेको हुँ ।

यो उनको चरित्र उदाङ्गो बनाउने र हैसियत माथि प्रहार गरी थला बसाउन लेलेखिएको होइन र त्यो रुपमा यहाँले बुझ्नु हुने छैन भन्ने अपेक्षा गरेको छु । हिजो आज हिमाल एफ.एम.का प्रमुख भानुभक्त निरौलासँग जोडिएर आएका विषय माथि तपाईलाई धारणा बनाउन सजिलो होला भन्ने अभिप्रायले मात्र यो इतिहास भईसकेको एउटा घटनालाई तपाई माझ पस्कने प्रयत्न गरेको हुँ ।

हिमाल एफ.एम.ले मलाई ८ वर्षअघि जिल्लाबाट बिदा दिएपछि म प्रायः काठमाडौमै बसें । संयोग नै मान्नुपर्छ, उनीसँग जोडिएर आएका समाचारहरु धमाधम सञ्चारमाध्यममा छाईरहेका बेला आफ्नो गृह जिल्ला सोलुखुम्बुमा छु । हिजो (आइतबार) सल्लेरीतिर घुमघामका लागि निस्केको के थिएँ, चिनेजानेका सबैले उनीसँग जोडिएर आएका समाचारहरुको जवाफ म बाटै सुन्न चाहेको पाएँ । यसकारण पनि मैले अतितको पानामा सुरक्षित राखेको ८ वर्ष अघिको त्यो घटनालाई प्रस्तुत गर्दैछु ।

शीर्षकमा भने जस्तै, हो ‘उनले हात मिलाउन आए, मैले च्याप्प छातीमा समाते ।’ मेरो स्वभाव झगडालु खालको छैन । आफूभन्दा ठूलालाई आदर सत्कार गर्ने, सबैलाई नम्र व्यवहार गर्ने मेरो बानी छ । तर कसैले हेपेको नसहने बरु गर्धन थाप्न तयार हुने मेरो आचरण बाजे बराजुकै जिनबाट आएको रहेछ । यो जिन मेरो छोरामा पनि सरेको छ ।

२०६९ साल असार साउनको कुरा हो । उनी (भानुभक्त निरौला) चार पाँच जना साथीसँग सल्लेरीबाट फाप्लु तर्फ आउँदै रहेछ । उनीसँगै भएका साथीहरु अहिले सम्झिदा सुरेस खड्काको मात्र याद आउँछ । त्यत्तिबेला खड्का द स्मल वर्ल्र्ड (TWS)मा कार्यरत थिए ।

अहिले उक्त सडकको तल्लोपट्टि फर्निचर सेन्टर र मोटर वर्कसप बनाईएको रहेछ । म फाप्लुबाट सल्लेरी तर्फ झर्दै थिएँ । अलि परबाट उनलाई देख्ने वित्तिकै मेरो मनमा एक प्रकारको आक्रोश पैदा भयो । दुई दिन अघि ओखलढुंगामा उनले म विरुद्ध गरेको प्रचारको राम्रै हिसाब किताब गर्ने मन थियो मलाई । त्यसैले अन्य साथीहरुलाई हात मिलाएँ, उनलाई (भानुभक्त निरौला) चाहिँ च्याप्प छातीमा समातेर हल्लाईदिएँ ।

‘तपाईलाई त हिमाल एफ.एम.बाट पनि निकालेछ त ?’ ओखलढुंगामा भेट्ने वित्तिकै साथी नरेन्द्र नेम्बाङले मलाई यही खबर सुनाए । संयोगले त्यसबेला पनि अघिल्लो दिन निरौला र भोलिपल्ट म पुगेछु ओखलढुंगा । त्यसअघि पनि म बेलाबेलामा ओखलढुंगा गईरहन्थे र पत्रकार साथीहरुसँग बाक्लै भेटघाट हुन्थ्यो । करिब महिना दिन अघि मात्र म कार्यक्रम निगरानी बनाउने शीलशीलामा ओखलढुंगा पुगेर फर्केको थिएँ ।

त्यस दिन साथी नरेन्द्र नेम्बाङ, शिव ढुंगाना, लाक्पा जि. शेर्पा लगायतसँग कुराकानी गरी राती नेम्बाङसँगै बसें । भानुभक्त निरौला र बिना राई एफ.एम.को मार्कटिङका लागि ओखलढुंगा आएको र मेरो बारेमा समेत कुप्रचार गर्न भ्याएको नेम्बाङले सुनाएँ ।

यो कुरा सुनेपछि कहिले निरौलालाई भेटौं र कुराकानी गरौं भएको थियो । सोलु फर्केको भोलिपल्टै उनीसँग जम्काभेट भएपछि मैले उक्त समयको सदुपयोग गरे । उनलाई च्याप्प छातीमा समाते, अनि सोधे, ‘कसले निकालेको रे ? तिम्ले निकालेको हो मलाई एफ.एम.बाट ? मैले म विरुद्ध बोल्दै हिड्ने होइन भनेर सचेत गराएको हो कि होइन ?’ यत्ति भन्दै हल्लाएपछि उनले अक्मकाउँदै भने ‘होइन…..मैले के भने र त्यसो ? कसले भनेको …..? हह…ह..अ…अ ,,, ??’ ‘ओखलढुंगा गएर नरेन्द्रजीसँग के भनेर आयौ ?’ मैले भने ।

ऊ अझ अक्मकाउँदै ‘होइन,……मैले केही भनेको छैन, ………होइन,…… बरु फोन गरेर सोध्दा हुन्छ’ उनी भन्दै थिए । मैले भने ‘फोन तिम्ले गरन, म किन गर्छु ? भनेको होइन भने नरेन्द्रजीलाई अहिले नै फोन गरिहाल …….. ।’ उनी यता र उता हुँदा सर्टको बटम खुस्किसकेको थियो, जत्ति नै रीसको आगो दन्किएपनि मनको अन्तस्करणबाट अलिकति दया भाव पलायो र मैले छातीबाट हात झिके ।

त्यसपछि उनले ढुंगा उचाले…। मैले सक्छौं भने हान भनेर छाती थापे,.. एकैछिन सहाराको रुपमा उनले ढुंगा हातमा लिए र केही समयपछि फ्यात्त बाटोमा फाले….। उनीसँगै रहेका साथीहरु भने दुई चार पाइला पर गएर हेरिरहे । उनलाई मैले घोक्र्याउँदा पनि कसैले छुटाउने त के, बीच बाटोमा यस्तो नगर भनेर रोक्न समेत आएनन् । उनको पक्षमा कुनै सहानुभूति प्रकट नभएपछि मैले सोचे ‘साथीहरुले पनि भित्रभित्रै भने होलान् कुचोले बडार्नुपर्ने कसिंगर हावाले उडाईदियो ।’

त्यसपछि उनी साथीहरुसँगै फाप्लुतिर अगाडि बढे । अब लखेटे पनि भेट्दैनन् भन्ने ठाउँमा पुगेपछि उनले भने ‘यसको मूल्य तिम्लाई महँगै पर्नेछ, हेरिराख ……।’

‘तिम्रो धम्कीले म डराउनेवाला छैन’, यत्ति भनेर म सरासर आफ्नो बाटो आएँ । ……..म एक्लै थिएँ, अनि बाटोमा सम्झिदैं आएँ । सेर्गाखोपतिर आईपुगेपछि मैले जिल्ला प्रहरी कार्यालय जाने निधो गरे । किनकि उनले भनेका थिए ‘यसको मूल्य तिम्लाई महँगै पर्नेछ, हेरिराख ……….।’ उनी अरुलाई उचाल्न, पछार्न, आफ्नो पक्षमा पार्न, लडाउन फसाउन, खसाउन जे गर्न पनि खप्पिस छन् । त्यसपछि आफू माथि आईपर्ने सम्भावित घटनाको प्रतिरक्षा गर्नका लागि म घटनाको १५ मिनेट भित्रै जिल्ला प्रहरी कार्यालय गएँ ।

डिएसपी भर्खर फेरिएको रहेछ, सुदनसिं बस्नेत । उहाँसँग मैले घटनाको सम्पूर्ण नालीबेली सुनाएँ । मैले मूल बाटोमै दुर्व्यवहार गरेको तर कारण चाहि यी यी हुन्, उनले म विरुद्ध जाहेरी लिएर आएमा मलाई तुरुन्त बोलाएर मात्र दर्ता गराउनुहोस् भनेर म फर्किए ।

निरौलालाई मूल बाटोमै घोक्र्याएपछि त्यत्तिबेला मैले भित्रैबाट के महसुस गरेको थिएँ भने……‘बराबर तागत, क्षमता र समान हैसियत भएका मानिससँग पो लड्न पनि मज्जा आउँछ त, जाबो निरिह मानिसलाई त जसले पनि हप्काउने, थर्काउने गरिहाल्छन् नि ? त्यस घटनामा मैले उनलाई त्यत्ति मात्र गरे, मेरो हृदयले उनलाई सधै माफी माफी भनिरह्यो ।’

त्यसको मूल्य निक्कै महँगो साबित हुने बताएका उनी म विरुद्ध उजुरी लिएर कहिल्यै प्रहरी कार्यालय गएनन् र अहिलेसम्म कुनै मूल्यको सामना गर्नुपरेको छैन ।

ठ्क्याक्कै अहिलेको टावर काण्ड पनि यही हो । स्थानीय विमल मगर र उनीसँग घुम्न गएका अन्य अभिभावकको केही गल्ती नभएपनि ‘अदालत जान्छु, पुलिस बोलाईदिउ ? पुलिस राखेर मिलापत्र गरौं, पैसा पछि तिरे पनि हुन्छ’ भन्ने लगायत उनको घुर्की पैसा फुत्काउन निकालिएको जुक्ति मात्र हो । यसरी धम्की दिदा विमलले पैसा दिने मनसाय देखेमा २० हजार रुपैयाँ मात्रै भएपनि गोजीमा हाल्ने र एफ.एम.को व्यवस्थापन पक्षलाई हिसाबै नदेखाउने नियत प्रष्टै देखिन्छ ।

अब पनि भानुभक्त निरौलाले हावाहुरीले ढलेको एफ.एम.को टावरमा स्थानीयबासिन्दालाई जबरजस्ती फसाएर रकम असुल्ने आँट गर्छन् ? हेरिराख्नुहोस, तिनले मुद्दा दिने आँट पनि गर्दैनन् र विमलसँग अब पैसा चाहियो भनेर एक पटक फोन पनि गर्ने छैनन् ।

भानुभक्तको जमातबाट प्रमुख कार्यकारी अधिकृतबाट कसरी निकालिए म ??? अर्को श्रृंखला पनि नछुटाउनुहोला ।

[लेखक : पी.टी. लोप्चन हिमाल एफ.एम ९०.२ मेगाहर्जका पूर्व प्रमुख कार्यकारी अधिकृत, संस्थापक कार्यसमिति सदस्य तथा वर्तमान शेयर होल्डर हुनुहुन्छ ।]

यो पनि पढ्नुहोस् ।

फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपोर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुिष्ट !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?

 

भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुत्तानीमा बेइमानी !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार