सोलु सोताङकी सुत्केरी महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार

‘घरआँगन नेपाल’को परोपकारी काम

  कुम्भराज राई
1.4k Shares

सोलुखुम्बु । सोताङ गाउँपालिका ३, सोलुखुम्बुकी पार्वती बस्नेत सुत्केरी व्यथाले तीन दिनदेखि छटपटाइरहेकी थिइन् । उनलाई नजिकको स्वास्थ्य संस्थामा सुत्केरी गराउने सम्भावना थिएन । स्थानीय स्वास्थ्यकर्मीले उनलाई सामान्य अवस्थामा सुत्केरी गराउन नसकिने बताएका थिए । आर्थिक अवस्थाले हेलिकप्टरमा लैजाने सम्भावना थिएन । गाडीमा सदरमुकाम लैजान कच्ची बाटो र दूरी टाढा भएकाले निकै जोखिम थियो ।

यस्तै बेलामा उनीहरूले ‘घरआँगन नेपाल’ संस्थाका सञ्चालक दीपक सिलवालको नम्बर पाए । उनीहरूले फोन गरी सुत्केरीको अवस्था बताउनेबित्तिकै सोमबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर केही घण्टामै गाउँमा अवतरण ग¥यो । उनलाई तत्कालै हेलिकप्टरले राजधानीस्थित शिक्षण अस्पताल पु¥याएको छ । प्रसूति शाखामा उपचाररत उनको ज्यानको जोखिम घटेको छ । ‘हामीले चाहेर पनि बचाउन नसकिएला भन्ने भइसकेको थियो,’ उनका पति रमेशले टेलिफोनमा भने, ‘तर हेलिकप्टरबाट उद्धार गरी यहाँसम्म ल्याएपछि केही आशा पलाएको छ ।’
घरआँगन नेपालले केही समययता नेपालको दुर्गम क्षेत्रमा सुत्केरी व्यथाले बिरामी भएका महिलाहरूको निःशुल्क रूपमा उद्धार थालेको छ । ‘हामीले कुनै दाता भएर वा धेर पैसा भएर यो काम थालेका होइनौ ।’ संस्थाका सञ्चालक दीपक सिलवालले भने, ‘यो नितान्त सेवाभावले सुरु गरका हौं । यसमा सिम्रिक एयरले ठूलो सहयोग गरेको छ । हामी हेलिकप्टर भाडाबापतको रकम उद्धार गरिसकेपछि विभिन्न सहयोगी मनहरूबाट संकलन गररे तिर्ने गर्छौं ।’ यो अभियानलाई राष्ट्रिय अभियानकै रूपमा सञ्चालन गर्ने सिलवालले बताए ।
हालसम्म विभिन्न जिल्लाका ४ सुत्केरीको उद्धार गरिसकेको उनले बताए । सोलुखुम्बु, ओखलढुंगाजस्ता दुर्गम पहाडी तथा हिमाली जिल्लामा वर्षेनी कुनै न कुनै आमाले सुत्केरी व्यथाकै कारण ज्यान गुमाउँदै आएका छन् । कान्तिपुर दैनिकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार