सोलुखुम्बु । पत्रकार नुतन श्रेष्ठ र विना राई ‘सोलुखुम्बु पत्रकारिता पुरस्कार-२०७५’ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सोलुखुम्बु जिलला शाखाको तेस्रो साधारण सभाको अवसरमा प्रदान गरिएको ‘सोलुखुम्बु पत्रकारिता पुरस्कार-२०७५’ बाट पत्रकार श्रेष्ठ र राई सम्मानित भएका हुन् ।

सम्मानित श्रेष्ठ र राई दुवैलाई नगद ५ हजार ५५५ रुपीयाँका साथमा ट्रफी र सम्मानपत्र प्रदान गरिएको छ । साधारण सभामा प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राईले सम्मान पत्र प्रदान गरेका थिए । २०६१ सालदेखि सोलु एफएममार्फत् पत्रकारिता शुरु गरेका पत्रकार श्रेष्ठ सोलु एफएमको स्टेशन म्यानेजर हुँदै कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । २०६४ सालदेखि दुधकोशी एफएमवाट पत्रकारिता शुरु गरेकी राई अहिले हिमाल एफएममा कार्यरत छन् ।
शाखाले साधारण सभाकै अवसर पारेर पूर्व पत्रकार रहेका दुई जनप्रतिनिधी र एक सामाजिक अगुवासमेतलाई सम्मान गरेको छ । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ बाट निर्वाचित उत्रमान राई र वडा नम्बर ६ बाट निर्वाचित दाडोमा शेर्पालाई सम्मान गरिएको हो । राई हाल वडा नम्बर १ को कार्यबाहक अध्यक्ष र शेर्पा जिल्ला समन्वय समितिको सदस्य रहेकाछन् । यस्तै गैह्र सरकारी संस्था महासंघ सोलुखुम्बुको अध्यक्षको नेतृत्वमा रहेका दिपक राजभण्डारीलाई पनि महासंघले सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि उपमेयर कल्पना राईले पत्रकारितामा सम्लग्न व्यक्तिहरु उदाहरणीय रुपमा अघि बढ्नु पर्ने बताइन् । उनले सम्मान तथा पुरस्कारले पत्रकारलाई हौसला प्रदान हुने बताइन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले समाजको विकासमा पत्रकारको महत्वपूर्ण भूमिका हुने भन्दै सत्य तथ्य समाचारमा ध्यान दिन आग्रह गरे ।

दुर्गममा पत्रकारिता गर्ने पत्रकारलाई हौसला प्रदान गर्न महासंघले सोलुखुम्बु पत्रकारिता पुरस्कारको शुरुवात् गरेको नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताए । उनले पुरस्कार वार्षिक रुपमा प्रदान गरिनेसमेत जानकारी दिए । कार्यक्रममा महासंघ जिल्ला शाखालाई सहयोग गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा सल्लेरी र सोलुखुम्बु महाकुलुङ गाउँपालिका ३ निवासी पूर्व पत्रकार जोकराज कुलुङलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सम्मानले जिम्मेवारी बढ्यो, महासंघलाई सहयोग
साधारण सभाको अवसरमा पुरस्कृत हुने पत्रकारद्धयले पुरस्कारले जिम्मेवारी बढाएको बताएका छन् । पुरस्कार प्राप्त गरेपछि पत्रकारद्वय नुतन श्रेष्ठ र विना राईले पुरस्कारले थप जिम्मेवार भएर अघि बढ्नका लागि उर्जा मिलेको बताए । पुरस्कृत पत्रकार श्रेष्ठले आफूले प्राप्त गरेको पुरस्कार रकममा एक हजार रकम थप गरी महासंघलाई आर्थिक सहयोग गरेकाछन् भने सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष उत्रमान राईले अर्को वर्षको ‘सोलुखुम्बु पत्रकारिता पुरस्कार-२०७६’का लागि प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् । स्रोतः सोलुखुम्बु समाचार ।
२९ मंसिर २०७५, शनिबार
140
Shares







