‘नेपाली समाजमा अर्जुन खालिङको योगदान कहिल्यै मर्ने छैन,’ कुलपति वैरागी काईला

  बुद्धवीर बाहिङ
301 Shares

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलबिक्रम नेम्बाङ ‘वैरागी काईला’ले नेपाली समाजमा अर्जुन खालिङको योगदान कहिल्यै नमर्ने बताएका छन् । अर्जुन खालिङ फाउण्डेशनले आयोजना गरेको ‘अर्जुन खालिङ स्मृतिग्रन्थ’ विमोचन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै कुलपति काईलाले अर्जुनका विविध आयम र विचारधारालाई बहसको माध्यमबाट संस्थागत गर्दै जानु अत्यान्तै खुशीको कुरा भएको बताएका हुन् ।

पहिचान र मौलिक संस्कृतिलाई उजागर गर्ने आन्दोलनको अग्रपंक्तीमा रहेर अर्जुनले खेलेको भूमिकालाई फाउण्डेशनले अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । काइलाले अर्जुनको कलात्मक चित्रहरुलाई पुस्तकको रुपमा उतानुपर्ने सुझावसमेत दिएका छन् ।
बरिष्ठ गीतकार भूपाल राईले अर्जुन खालिङको मृत्यूको कारण थुप्रै भएपनि मुख्य कारण समाज नै भएको टिप्पनी गर्दै उनको सपना पूरा गर्नका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । अर्जुनका अनेकन पृष्ठभूमिहरु प्रस्तुत गर्दै राईले भने, ‘अर्जुन खालिङ मेरो भान्जा भन्दा बढि भाई हो, भाञ्जा भन्दा कवि हो, कवि भन्दा कलाकार हो, कलाकार भन्दा बढि सामाजिक अभियन्ता हो ।’

मदन पुरस्कार विजेता आख्यानकार राजन मुकारुङले मृत्यु भन्ने कुरा शाश्वत भएको उल्लेख गर्दै अर्जुन खालिङ भौतिक रुपमा मरेर गएपनि अजम्बरी भएर बाँचेको बताए । अर्जुन खालिङका सिर्जना, उनले बोकेको विचार, उनले अघि बढाएको अभियान र आन्दोलनलाई सहि मार्गनिर्देश गर्न सकेमात्रै वास्ताविक अर्थमा उनको सम्मान हने भनाई मुकारुङको छ ।

सिर्जनात्मक व्यक्तित्वका हिसाबले र पहिचानको आन्दोलन अभियन्ताको हिसाबले व्याख्या गर्दै उनले भने, ‘पहिचानको आन्दोलन पेचिलो बन्दैगर्दा त्यो राजनीतिक पृष्ठभूमिलाई दम दिनका निमित्त अर्जुनले सिर्जनाको माध्यमबाट र प्रत्यक्ष रुपमा आफुलाई अभियानमा उभ्याएर महत्वपूर्ण भूमिका खेलेका छन् ।’
अर्जुनका गुरुसमेत रहेका किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईले अर्जुन सानैदेखि तीक्ष्ण र फरक प्रतिभा भएको विद्यार्थी भएको उल्लेख गर्दै संघर्षबाटै उनले आफुलाई उचाईमा पुर्याएको बताए । अर्जुनले चिण्डो चिन्तन जस्तो नयाँ बहस गराएर समाजमा नयाँ आयम थपिदिएको पनि उनले बताए । ‘तत्कालिन नेकपा मालेले सोलुखुम्बुमा संगठन निर्माणको लागि शिक्षक बनाएर पठाएको थियो, त्यसबेला मलाई अर्जुनका दाईले सहयोग गरेका थिए, जुनबेला अर्जन ५/६ वर्षका थिए, तर ज्यदै तीक्ष्ण दिमाख भएका थिए,’ राईले भने, ‘उनको त्यो तीक्ष्ण दिमाखका कारण मैले उनलाई अनेरास्ववियूको सदस्यता प्रदान गरेको थिए ।’

किरात राई यायोक्खाका कार्यबहाक अध्यक्ष दिवश राईले पहिचानको आन्दोलनमा अर्जुनको संघर्षपूर्ण भूमिका अतुलनीय रहेको बताउँदै पहिचानको आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याउनका लागि जागरुक हुन सबैलाई आग्रह गरे । ‘हाम्रो पहिचान र आन्दोलनलाई निरन्तर अगाडि लैजानु पर्छ, अनि मात्र अर्जुनको आत्माले शान्ति पाउने छ,’ राईले भने, ‘प्रदेश नं. १ लाई किरात राज्य नामाकरण गराउन सकियो भने अर्जुनप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

किरात खालिङ राई उत्थान संघका अध्यक्ष अर्जुन खालिङ (मज्जबर)ले अर्जुन खालिङले समुदायको लागि मात्रै नभएर राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वको भूमिका खेलेको स्मरण गर्दै उनको सपना पूरा गर्न समुदाय सधैं अघि बढ्ने बताए । ‘अर्जुन खालिङको योगदानको बारेमा बोल्दै गर्दा मैले न्याय पुर्याउँछु भन्ने मलाई लाग्दैन, स्व. खालिङ एउटा क्षेत्रमा मात्रै नभएर उहाँ हरेक क्षेत्रमा योग्य, निपूर्ण हुनुहुन्थ्यो,’ अध्यक्ष खालिङले भने, ‘हामीले उहाँलाई एक बरिष्ठ चित्रकार भनेर चिन्दथ्यौं, त्यत्ति मात्र होइन उहाँ एक सामाजिक, राजनीतिक व्यक्तित्व समेत हुनुहुन्थ्यो ।’

अर्जुन खालिङ स्मृति ग्रन्थका प्रधान सम्पादक डा. तारामणी राईले अर्जुन खालिङको योगदानको चर्चा गर्दै पुस्तकमा विभिन्न खण्डमा प्रस्तुत गरिएको बताए । विभिन्न चुनौतिहरु आइपरेपनि सामूहिक कार्यबाट स्मृति ग्रन्थलाई पूर्णता दिने काम सम्पन्न गरेको समेत डा. राईले सम्झिए । ‘विचार, चिन्तन, दर्शणका दृष्टिकोणले लामो रेसमा दौडिएका घोडा जस्तै थिए,’ डा. राईले भने, ‘तर बीचमै थाके, उनले आफ्नो जीन्दकी बीचमै बिसाए, उनको आत्माहत्याले गम्भिर प्रश्न उठाएको छ ।’

फाउण्डेशनका अध्यक्ष मानवीर राईले अर्जुनका विविध आयमहरुलाई संस्थागत रुपमा बहस गर्दै पूरा गर्ने उद्देश्यका साथ फाउण्डेशन स्थापना भएको बताए । अध्यक्ष राईले स्मृति ग्रन्थ तयार गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पादन मण्डल, आर्थिक तथा भौतिक सहयोग गर्ने सबै प्रति धन्यवाद ज्ञापनसमेत दिए । ‘अर्जुन खालिङ एउटा खालिङ समुदायको सदस्य, एउटा किरातीहरुको दाजुभाई, एउटा नेपाली र गोल्डमेडलिष्ट व्यक्ति उहाँसँग भएको व्यक्तित्वलाई सम्बोधन गर्नको लागि, उनलाई जीवन्त दिनको लागि, उहाँले गर्नु भएका भिजन, उहाँको इमाजिनेशनलाई सही रुपमा जीवन्त उतार्न फाउण्डेशनको स्थापना गरिएको हो,’ अध्यक्ष राईले भने, ‘अर्जुन खालिङको सम्झनामा एउटा यस्तो चौतारी बनाउँ, त्यहाँ कला, साहित्यको सम्बोधन होस ।’

कार्यक्रमबीच अर्जुनका श्रीमती तारा नुमिहाङले परिवारको तर्फबाट बोलेका थिए । नुमिहाङले भने, ‘अर्जुन स्मृतिग्रन्थ तयारीको लागि छलफल भएपछि प्रत्येक रात म नरोएको पल छैन, यो स्मृतिग्रन्थले मेरो मानसपटलमा उहाँको सम्झना झन ताजा भएर आएको छ ।’

न्यूयोर्क, अमेरिकामा बसोबास गर्नुहुने अर्जुनका काका मकरबहादुर खालिङले कार्यक्रम सफलताको लागि शुभकामना सन्देश पठाएका थिए । ‘आज मलाई दुःख पनि लागेको र खुशी पनि लागेको छ, मलाई दुःख यस अर्थमा लागेको छ की अर्जुन खालिङ सामाजिक अभियान्ता भएर धेरै काम गर्दागर्दै हामीलाई छोडेर अर्थात यो संसारलाई छोडेर जानुभयो ? यो मानेमा दुःख लागेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘आज मलाई केमा खुशी लागेको छ भने, अहिलेसम्म भए गरेका कार्यहरु अर्जुन खालिङ स्मृतिग्रन्थ किताबमा छापिएर हामीहरु सामु आएको छ, स्व. अर्जुन खालिङले जीवनमा के कति सामाजिक कार्यहरु गरे यी सबै कुराहरु हामीले पढ्न र बुझ्ने छौं, त्यो कुरा किताबमा पढ्दा अध्यात्मिक संसारमा स्वर्गीय अर्जुन खालिङको आत्माले शान्ति पाउँनेछ भन्ने मलाई लागेको छ ।’
फाउण्डेशनका उपाध्यक्ष खुक्सङ खम्बुले फाउण्डेशनको कार्ययोजनाको बारेमा बताएका थिए । ४ महिनापछि अर्जुन खालिङले बनाएको कला प्रदर्शनी गरिन लागेको समेत उपाध्यक्ष खम्बुले बताए ।

फाउण्डेशनका सदस्य मतिता राईले स्वागत मन्तव्य राखेका थिए । राईले स्वागत मन्तव्यमा स्व. अर्जुन खालिङ घोषित नभएको सहिदको उपमा दिएका थिए । कार्यक्रम अर्जुन स्मृतिग्रन्थका कार्कारी सम्पादक गणेषकुमार राईले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार